आगलागी पीडितलाई राहत दिन मुख्यमन्त्रीको टोली मुगुमा

आगलागी पीडितलाई राहत दिन मुख्यमन्त्रीको टोली मुगुमा

बैशाख २२, कालीकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले मुगु कार्मारोङ गाउँपालिका-४ किम्री गाउँका आगलागी पीडितका लागि राहत वितरण गर्ने भएका छन्।

आगलागी पीडितका लागि मुख्यमन्त्री शाही राहतका सामग्री लिएर सुर्खेतबाट त्यसतर्फ गएका हुन्। बिहीबार भएको आगलागीमा किम्रि गाउँका १८ घर जलेर क्षति भएको तथा ११२ जना स्थानीय आगलागीवाट प्रभावित भएका थिए।

नेपाल सरकार गृहमन्त्रालयको आपतकालीन कार्य संचालन केन्द्रवाट त्रिपाल ३४ वटा, सिलिपिङ ब्याग ११२ वटा, कमल ५१ वटा, वृद्धवृद्धाका र वालवालिकाका लागि ज्याकेट ११२ वटा, चप्पल ११२ जोर र टावेल १७ वटा राहतका सामग्री प्राप्त भएको जनाइएको छ।  पीडितलाई सामग्री वितरण गर्न मुख्यमन्त्री शाही मुगुतर्फ लागेको शाहीका प्रेस सल्लाहकार ध्रुवबिक्रम वुढाथोकीले बताए।

‘केन्द्र सरकारको राहतसँगै कर्णाली प्रदेश सरकारका तर्फवाट २०० केजी चिउरा, ७५ केजी दाल, १०० केजी चिनी र ३६ प्याकेट विष्कुट लिएर नेपाली सेनाको हेलिकाेप्टरमा मुख्यमन्त्रीको टोली किम्री जानुभएको छ।’ उनले भने, ‘आजै मुख्यमन्त्रीले आगलागी पीडितलाई राहत वितरण गर्नु हुनेछ।’ मुख्यमन्त्रीको टोलीमा मुगुका सांसद गोपाल वम र दानसिंह परियार समेत रहेका छन्।

प्रतिक्रिया