कर्णालीको विकासका लागि निजी लगानी पनि भित्र्याउँछु : मुख्यमन्त्री शाही

सल्यान : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासका लागि निजी लगानी भित्र्याउनुपर्ने बताएका छन्। कर्णाली प्रदेशकै समग्र पक्षको विकासमा सरकारी बजेटले नपुग्ने भएकाले निजी लगानी भित्र्याउनुपर्ने बताएका हुन्।
मंगलबार कुमाख गाउँपालिका- ६ वडागाउँको बुद्ध जनकल्याण माध्यमिक विद्यालयको ५०अाैँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती कार्यक्रममा पुगेका मुख्यमन्त्री शाहीले देश तथा विदेशका निजी लगानीकर्तालाई प्रदेशको विकासमा जोडी निजी लगानीको खोजी गर्ने बताए।
मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश सरकारको मात्रै लगानीले प्रदेशकाे समग्र पक्षको विकास सम्भव छैन, त्यसैले कर्णाली प्रदेशवासीले विकासको अनुभूति गर्नका लागि देश तथा विदेशी निजी लगानी भित्र्याउन जरुरी छ।’ अर्को एक प्रसंगमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका जनताको प्रति व्यक्ति आम्दानी कम भएकाले रोजगारमूलक योजना बनाएर समृद्धितिर लैजानेमा पनि जोड दिए। उनले कर्णाली प्रदेशमा जलस्रोत, जडिबुटी, धार्मिक तथा पर्यटकीयस्थललाई प्रयोग तथा परिचालन गरी आर्थिक समुन्नतितिर लैजान सबै पक्ष लागिपर्नुपर्ने बताए।
प्रतिक्रिया