समस्या धेरै समाधान न्यून, पाठेघर खस्नुको मुख्य कारण-बालविवाह

समस्या धेरै समाधान न्यून, पाठेघर खस्नुको मुख्य कारण-बालविवाह

वैशाख २६, दैलेख, दैलेखमा अहिलेपनि ५० प्रतिशत भन्दा बढी महिलाहरुमा पाठेघर खस्ने समस्या कायमै छ । बिभिन्न हिसावले अनुसंन्धान गर्दा पाठेघर खस्ने मुख्य कारणमा बालविवाह भएको निश्कर्ष जिल्लामा काम गर्ने बिभिन्न संघ संस्थाहरुले निकालेका छन्
धार्मिक परम्पराअनुसार सानै उमेर विहे गर्ने प्रचलन धेरै भएको र बालविवाहकै कारण धेरै जसो महिलाहरुको पाठेघर खसेको तथ्याँक धेरै बर्षदेखि सार्वजनिक हुँदै आएको महिला शसक्तिकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्दले बताईन् ।

स्केच                                                                         

जिल्लामा बाल बिवाहका घटनाहरु धेरै छन् । परम्परागत संस्कारले कम उमेरमा बिहे गर्नु पर्ने बाध्यता अहिले पनि गाउँघरमा कायमै छ । महिनावारी नहुँदै छोरीलाई अर्काको घरमा दिए पुण्य प्राप्त हुन्छ भन्ने पुरातन सोचका कारण पनि महिलाहरुलाई उमेर पुग्दा समस्या हुने जसको प्रमुख कारण पाठेघर खस्ने गरेको छ ।महिलाहरु महिनावारी हुँदा, सुत्केरी हुँदा, गह्रौ भारी बोक्ने, पोषिलो खानेकुरा नखाले चलनले पनि पाठेघरमा समस्या हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन ।
जिल्ला स्वास्थ्य कार्यालय र अन्य बिभिन्न गैरसरकारी संघ संस्थाहरुले पाठेघर पीडित महिलाहरुको सुरक्षाका लागि उपचार सँगै बिभिन्न जनचेतनामुलक गतिविधिहरु पनि जिल्लामा संचालन हँुदै आएका छन । जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्यांक अनुसार ५० प्रतिशतमा रहेका महिलाहरुको संख्या क्रमश घट्दै आएको छ ।
अधिकाँसले जिल्लामै आएको शिविरमा उपचार पाएपछि पाठेघर खस्ने समस्याबाट मुक्ति पाएका छन् भने अँझै पनि धेरै महिलाहरु रोग लुकाएर बसेका कारण जटिल समस्यामा परेका देखिन्छन् ।

रोग लुकाएरै मृत्युको मुखसम्म पुग्छन महिलाहरु

पाठेघर समस्या संवेदनसिलता सँग जोडिने, झट्ट भन्न लाज मान्ने, समस्या जटिल बनेपछि मात्र बाहिर आउने वा थाहा हुने भएको पनि अधिकाँस महिलाहरु थाहा नपाएर र थाहा भएपनि रोग लुकाएर मृत्युको मुखमा पर्ने गरेका उदाहरणहरु गाउँघरमा धेरै देख्न र सुन्न पाईन्छ ।
बाल बालिका हुँदा घर परिवारले जवरजस्ती बिवाह गरिदिने उमेर पुग्दै गएपछि किशोरीहरुलाई हुने मानसिक समस्या, घर परिवारको हेला लगायतका कारणले अन्य मृत्यु रोज्नुपर्ने बाध्यतामा किशोरीहरु पुग्ने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखले दिएको जानकारी अनुसार यस आर्थिक वर्षको बैशाख सम्म वर्षयता मात्रै झुण्डिएर आत्महत्या गर्ने महिलाहरु १० जना रहेका छन भने पुरुष १६ जना रहेका छन । त्यस्तै बिष सेवन गरेर मृत्यु हुनेमा महिला १ र पुरुष ४ जना रहेका छन । पानीमा हाम फालेर १ जना महिलाको महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी सरोज पौडेलले जानकारी दिएका छन् ।

समस्या धेरै, समाधान न्यून

समाजको बिकास सँगै भित्रियका नयाँ प्रविधिहरु, मोवाइलको प्रयोग, देखा सिकी, अभिभावको दवाव, गरिवी, अशिक्षा, परम्परागत समाजिक संस्कार, काुननी अज्ञानता, लगायतका कारणले बाल विवाह बढेको छ । समस्या धेरै भएपनि समाधानका लागि गरिएका प्रयासहरु भने न्यून देखिन्छन् ।
कुनै एनजिओ वा परियोजनाले रकम दिएपछि मात्र अभियानको थालनी हुने गर्दछ । परियोजना सकिएपछि अभियान पनि हराउँछ । यस्ता समस्याहरुको दिगो समाधानका लागि अव स्थानीय सरकारले पहल थाल्नुपर्ने सुझाव स्थानीयको छ ।
कानुन बनाउने अधिकार पाएको स्थानीय सरकारले पनि बालविवाह, लगायतका समस्याहरुका बारेमा चासो देखाउनुपर्ने गैर सरकारी संस्था महासंघका अध्यक्ष महारुप खत्रीले बताए ।
बाल विवाह न्यूनिकरणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रम संचालन भएपनि त्यसको न्यूनिकरण हुन नसकेको नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजापति बताउछन् । नेपालबार एशोसियशन जिल्ला अध्यक्ष यामराज थापाले जिल्लामा बाल बिवाह न्यूनिकरणका लागि धेरै प्रयास भएपनि कानुनी प्रावधान बारेमा स्थानीय स्तरमा जनचेतना अभावका कारण पनि समस्या पूर्ण रुपमा समाधान हुन नसकेको बताए ।
जिल्लामा संचालनमा आएको महिला तथा बालबालिका केन्द्र (बाल हेल्पलाइन) को तथ्यांक अनुसार एक वर्षको अवधिमा ७ सय बढी बालविवाह रोकिएका छन् । बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले भनिन् “गाउँघरमा बालविवाह हुन लागेको खबर बाल हेल्पलाइन १०९८ मा आउँछ, त्यसको जानकारी प्रहरीलाई गर्छौ ।” प्रहरीको सहयोगमा धेरै घटनाहरु रोकिएको श्रेष्ठको भनाई छ । त्यसबाहेक स्थानीय स्तरमा हुने बाल क्लव, महिला संजाल र हालका स्थानीय तहहरुले समेत बाल विवाह रोक्ने गरेका छन् ।

प्रतिक्रिया