विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार

विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नं. १ का वडाध्यक्ष रंगबहादुर तामाङ्गले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार गर्न समुदायको अग्रसरता जरुरी रहेको बताउनुभएको छ ।
सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीतामा सञ्चालित सहयात्रा परियोजनाले तीजडाँमा आज आयोजना गरेको गुणस्तरीय सिकाई वातावरण सम्वन्धी शिक्षा सम्वाद कार्यक्रममा उहाँले सो विचार राख्नु भएको हो ।
वडाध्यक्ष तामाङ्गले समुदायको सक्रियताकै आधारमा विद्यालयको शिक्षण पद्धति सुधार हुन सक्ने बताउनुभयो । उहाँले वडास्तरमा आएको बजेट श्रोतलाई शिक्षा क्षेत्रमा लगानी गरेको र यो लगानीबाट द्रुतगतिमा आर्थिक तथा सामाजिक जीवन स्तर उठाउन चाहेको बताउनुभयो ।
यसैगरी चामुण्डाबिन्द्रासैनी–१ की आमा समूह अध्यक्ष शान्ता बिश्वकर्माले बालबालिकाको पढाई राम्रो हुन परिवार र समाजको वातारवरण राम्रो हुनुपर्ने बताउनुभयो ।
हिमालय आधारभूत विद्यालय तीजडाँडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर सारुले विद्यालयका पठनपाठनको अवस्था बारे अभिभावकहरुले समेत चासो दिनुपर्ने सुझाव दिनुभयो ।
सरस्वती आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानबहादुर रानाले विद्यालयहरुको सरकारी तहबाट निरन्तर अनुगमन हुनुपर्ने बताउनुभयो ।
त्यसबखत हिमालय आधारभूत विद्यालय तीजडाँडाका प्रधानाध्यापक पूर्णप्रसाद कँडेलले सरकारी श्रोत गैरसरकारी क्षेत्रको सहयोगबाट प्राप्त श्रोत साधनको अधिकतम् उपयोग गरी शैक्षिक गुणस्तर सुधार गर्न सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा भैरव आधारभूत विद्यालय भीरमान्मका प्रधानाध्यापक खगिसरा लामिछाने कँडेलले सम्वादले शैक्षिक गुणस्तरीय सिकाई वातावरण सुधार गर्न सघाउने आशा व्यक्त गर्नुभयो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको सहयात्रा परियोजनाका शिक्षा अधिकृत मोहन पौडेल, स्थानीय श्रोत व्यक्ति लक्ष्मी बिक समेतको उपस्थिति रहेको शैक्षिक सम्वाद कार्यक्रममा गुणस्तरीय सिकाई वातावरणका सूचक र चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. १ अन्तरगतका ६ वटा विद्यालयको अवस्था विषयमा पत्रकार अमर सुनारले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया