जनप्रतिनीधिलाई बालबालिकाको गुनासो

जनप्रतिनीधिलाई बालबालिकाको गुनासो

दैलेख – जिल्लाको गुराँस गाउँपालिका ४ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत किरण मल्लले आफ्नो विद्यालयमा शुद्ध खानेपानी नभएको भन्दै आक्रोस पोखे । “बालबालिकामा स्थानीय सरकारको लगानी” विषयक गुरासँ गाउँपालिकामा आयोजित सार्वजनिक सम्वादमा उनले गुनासो पोख्दै भने, “हरेक बालबालिकाले शुद्ध खानेपानी पाउनु उसको अधिकार हो ।” तर, विद्यालयमा राखिएको खानेपानी टयाङ्कीमा जम्मा भएको फोहोर बालबालिकाहरुले पिउन बाध्य छन् ।
किरण जस्तै सोही गाउँपालिका वडा नं ८ का भुपेश कठायतले खानेपानी धारा भएपनि तिर्खा लागे पसलतिर जानु पर्ने बाध्यता भएको बताए । विद्यालयमा फर्निचर, पर्याप्त कक्षा कोठा, शिक्षकको नियमितता, खानेपानीको असुविधा, शौचालय लगायतका समस्या भएको कठायतको भनाई थियो ।

विद्यालय सुधारका लागि गाउँपालिकाले पहल नगरेको भन्दै मालिका माध्यामिक विद्यालयमा अध्ययनरत विनय के.सी.ले विद्यालयमा शौचालयको अभावका कारण शौच बस्न जंगलतिर जानुपर्ने बाध्यता भएको गुनासो गरेका थिए । विद्यालय भत्किन लागेको छ । कक्षा कोठामा पर्याप्त फर्निचर छैनन् । शिक्षक विद्यालयमा नियमित आउदैनन् । वडा नं ३ स्थित सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत रोशनी शाहीले “बालबालिका खर्च नभएर लगानी भएकाले बालबालिकाप्रति स्थानीय सरकार जिम्मेवार बन्न आग्रह गरेकी थिइन् ।”
सम्वादमा गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले शैक्षिक गुणस्तरसँग सम्बन्धित ९० प्रतिशत गुनासोहरु एक वर्ष भित्रै समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, हामी बालबालिका प्रति जिम्मेवार छौं । बालबालिका प्रति जिम्मेवार बन्न गाउँपालिकाले झण्डै आधा दर्जन भन्दा बढी कार्यविधिहरु पारित गरेको छ । पैसा नभएकै कारण बालबालिकाले पढ्न नसक्ने अभिभावक कालापहाड जानु पर्ने बाध्यतालाई हटाउन जीवन सुरक्षा कोषको व्यवस्था गरिएको उनको भनाई थियो ।
बच्चा जन्मिना वित्तिकै अभिभावक र गाउँपालिकाकाले उसको नाममा बैंक खाता खोली दुई दुई हजार जम्मा गर्छ । २० वर्ष पछि जम्मा गरिएको ४ हजारबाट २ लाख आम्दानी गरी बालबालिकालाई उच्च शिक्षा पढ्न सहज हुने वलीले बताए ।
उनले भने जोखिममा रहेका, अभिभावक विहिन र परिवारबाट परित्याग गरिएका बाबलाबालिकाको लागि आगामी आर्थीक बर्ष देखि गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने योजना बनाएको छ । सामाजिक सुरक्षा भत्ता उसको शैक्षिक तथा आर्थिक स्थिती सुधारका लागि हो । आर्थिक अभावले गर्दा कुनै पनि बालबालिकाले विद्यालय छोड्नु पर्ने छैन्, अध्यक्ष ओलीले भने ।
अभिभावक विहिन बालबालिकाको अभिभावक स्थानीय सरकार भएको ओलीको भनाई थियो । वलिले, हामी विद्यालय सुधारका लागि लगानी गर्छाै तपाईहरुले आफ्ना अभिभावकलाई सक्रिय बनाई दिन बाल बालिकालाई आग्रह गरेका थिए । अभिभावक र समुदायको सक्रियताविना विद्यालय सुधार हुन नसक्ने उनको भनाई थियो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका बाल संरक्षण अधिकतृ निर्मल अधिकारीले “भोलीको समुन्नत समाज निर्माणका लागि बालबालिकामा लगानी गर्नुपर्ने बताए ।” हामी सडक बनाउछौं, ठुला ठुला भवन बनाउछौं, पुल बनाउछौं । तर हाम्रो पुस्ता त्यो सदुपयोग गर्न सक्षम भएन भने हामीले बनाएका संरचनाको कुनै अर्थ रहदैन् । अबको समय सुहाउदो र सक्षम पुस्ता तयार गर्न अहिले देखिनै बालबालिकामा लगानी गर्नुपर्ने अधिकारीको भनाई थियो ।
उक्त सम्वादको आयोजना सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा गुरासँ गाउँपालिका स्तरीय नागरिक समाज र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखले गरेको थियो ।

प्रतिक्रिया