नेपालीको प्रतिव्यक्ति ऋण करिब २९ हजार

नेपालीको प्रतिव्यक्ति ऋण करिब २९ हजार

काठमाडौँ — नेपालीको प्रतिव्यक्ति ऋण अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले बढेर करिब २९ हजार पुगेको छ ।नेपालीको प्रतिव्यक्ति ऋण २८ हजार ९ सय ६३ पुगेको सरकारले जनाएको छ ।चालू आर्थिक वर्षको पहिलो ८ महिनामा तिर्न बाँकी ऋणलाई आधार मानेर यो तथ्यांक निकालिएको हो । अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति ऋण २४ हजार २ सय ७० थियो ।आन्तरिक ऋण परिचालनमा उल्लेख्य वृद्धि भएकाले पनि प्रतिव्यक्ति ऋण बढेको अर्थमन्त्री युवराज खतिवडाले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

चालू आर्थिक वर्षको ८ महिनामा १ खर्ब १९ अर्ब ८० करोड बराबरको आन्तरिक ऋण परिचालन गरिएको अर्थमन्त्री खतिवडाले जानकारी दिए । यो अवधिमा आन्तरिक ऋणको भुक्तानी १५ अर्ब २५ करोड मात्रै भएको छ । सरकारले भुक्तानी गर्न बाँकी कुल ऋण ८ खर्ब ४३ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी ऋण करिब ७ खर्ब थियो ।

प्रतिक्रिया