न्यायिक प्रक्रियालाई छरितो बनाइदै

न्यायिक प्रक्रियालाई छरितो बनाइदै

जेठ १४, दैलेख

राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक केशरीराज पण्डितले न्यायिक प्रक्रियालाई छिटो छरितो र सामाजिक सहभागितामूलक बनाउन सरलीकृत गर्न लागिएको बताएका छन् । पुनस्र्थापकीय न्याय प्रणाली सम्वन्धी आज दैलेखमा भएको जिल्ला स्तरीय कार्यशालामा उनले सो विचार राखेका हुन् ।
न्याय सम्पादनका जटिलता हटाउने, कानूनी प्रक्रियालाई सरल बनाउन, पीडितको सुरक्षा तथा आवश्यक क्षतिपूर्ति र आरोपितले अपराध स्वीकार गर्ने संस्कारको विकास गर्न पुनस्र्थापकीय न्याय प्रणाली लागिएको निर्देशक पण्डितले जानकारी दिए ।

त्यसबखत राष्ट्रिय न्यायिक प्रतिष्ठानका प्राज्ञिक निर्देशक इश्वर पराजुलीले पीडितलाई क्षतिपूर्ति दिलाउन, आरोपितलाई सुध्रने मौका दिने र परिस्थितिजन्य अवस्थामा भएको गल्ती सच्याउदै समाजमा पुनः स्थापित हुन अवसर दिलाउने पुनस्र्थापकीय न्याय प्रणाली अवधारणा रहेको प्रष्ट्याए ।
बुलवल उच्च अदालतका न्यायाधीश प्रभा बस्नेत, राष्ट्रिय न्यायिक प्रतिष्ठानका वरिष्ठ प्राज्ञिक निर्देशक बिनोदप्रसाद शर्मा, प्राज्ञिक निर्देशक केशवप्रसाद बास्तोला, दैलेखका जिल्ला न्यायाधीश सनतचन्द्र लवट लगायतले सहजीकरण गरेको कार्यशालामा न्याय सेवाका कर्मचारी, कानून व्यवसायी, सामाजिक कार्यकर्ता लगायतको सहभागिता थियो ।
कार्यशालामा पुनस्र्थापकीय न्यायको अवधारणा, सिद्धान्त तथा कार्य सम्पादन प्रक्रिया, अन्तरराष्ट्रिय अभ्यास र आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध तथा फौजधारी संहिता र फौजदारी कसूर ऐन २०७४ मा पुनस्र्थापकीय न्याय सम्वन्धी व्यवस्था बारे छलफल भएको थियो ।

प्रतिक्रिया