कर्णाली प्रदेशका मुख्यमन्त्री भन्दा मन्त्रीहरुको सम्पत्ति धेरै

कर्णाली प्रदेशका मुख्यमन्त्री भन्दा मन्त्रीहरुको सम्पत्ति धेरै

सुर्खेत- कर्णालीमा मुख्यमन्त्री भन्दा पनि मन्त्रीहरुको सम्पत्ति धेरै देखिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको तुलनामा अन्य मन्त्रीहरुसँग नै सुन, गहना, घरजग्गा र सम्पत्ति धेरै भएको विवरण सार्वजनिक भएको हो ।

को धनी, को गरिब  ?

मंगलवार सार्वजनिक गरिएको मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण अनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री र सबैभन्दा गरिब भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी देखिएकी हुन् । मन्त्रिपरिषदका सात जना सदस्यहरुमध्ये मन्त्री विमला केसी बाहेक सबैसँग सुन रहेको छ । यस्तै अधिकांश मन्त्रीको बैंकमा व्यालेन्स र ठाउँठाउँमा जग्गासमेत रहेको छ । सामाजिक विकास मन्त्री दल रावलसँग सबैभन्दा धेरै ५५ तोला सुन रहेको छ ।

सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्दा मन्त्रीहरु नै धनी देखिएका हुन् । मुख्यमन्त्री शाहीसँग कालिकोटको पचाल झरनामा अंशबण्डा नभएको पु्ख्र्यौली घर र पाँच रोपनी जग्गा, ६ तोला सुन, दुइ सय तोला चाँदी छ । राष्ट्रिय वाणिज्य बैंकमा पाँच लाख र एभरेष्ट बैंकमा दुई लाख नगद रहेको उल्लेख छ ।

त्यसैगरी मुख्यमन्त्री शाहीको १० लाख बराबरको कुखुरापालन ब्यवसाय र दुइ लाख ५० हजारको तरकारी खेती पनि रहेको विवरणमा उल्लेख गरिएको छ । शाहीले पत्नी चन्द्रा शाहीको नाममा कैलालीमा जग्गा रहेको उल्लेख गरेका छन् । यस्तै मुख्यमन्त्री शाहीसँग १५ लाख बराबरको मारुती कार रहेको उल्लेख छ ।

कर्णालीमा सबैभन्दा धनी मन्त्रीको सूचिमा भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री देखिएका छन् । यद्यपी सम्पत्ति विवरणमा उनको घर देखिएको छैन । मन्त्री खत्रीसँग २१ तोला सुन र आफ्नो स्वयम, पत्नी र प्रदीप कन्स्ट्रक्सनको नाममा गरी विभिन्न बैंकमा ७५ लाख रुपैयाँ नगद रहेको छ । यस्तै आफ्नै नाममा विभिन्न बैंकको गरी ११ करोड ८६ लाख रुपैयाँको शेयर रहेको उल्लेख छ ।
त्यस्तै मन्त्री खत्रीको बैंकमा एक करोडभन्दा बढी वचत छ भने ट्रक, ट्रिपर, जिप, एक्साभेटर गरी दर्जनौं सवारी साधन पनि रहेका छन् । निर्माण व्यवसायीसमेत रहेका उनको सुर्खेत, कैलाली, बाँके, काठमाडौं र भक्तपुरमा धेरै जग्गा छ ।
सुर्खेतको भेरीगंगामा २० रोपनी, रानीबासमा १२ रोपनी, वीरेन्द्रनगर नगरपालिकामा पनि दुई कित्ता जग्गा रहेको विवरणमा उल्लेख छ । बाँकेका विभिन्न स्थानमा उनको झण्डै चार विगाह जग्गा रहेको छ । काठमाडौंको बुढानिलकण्ठमा दुई रोपनी र भक्तपुरको चाँगुनारायणमा दुई रोपनी जग्गा रहेको छ । यस्तै सम्पत्ति विवरणमा कैलालीमा झण्डै तीन विगाह र धनगढीमा डेढ कठ्ठा जग्गा रहेको उल्लेख छ । उनको पत्नीको नाममा एउटा स्कुटर पनि रहेको उल्लेख छ ।

त्यसैगरी सामाजिक विकास मन्त्री दल रावलको हुम्लामा तीन वटा र बाँकेमा एउटा गरी चार वटा घर छन् । उनीसँग ५५ तोला सुन र एक सय ५० तोला चाँदी रहेको छ । हुम्लामा ५० लाखको पुख्र्यौली जग्गा र सुर्खेतमा २५ लाखको जग्गा रहेको उल्लेख छ ।

मन्त्री रावलको नेपाल एसबीआई बैंकमा एक लाख ५३ हजार र पत्नीको नाममा सनराइज बैंकमा २४ लाख तथा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ६५ हजार रुपैयाँ बचत देखिएको छ । साथै उनीसँग ४५ वटा भेडाबाख्रा पनि रहेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसँग जुम्ला र बाँकेमा पुख्र्यौली घर रहेका छन् । १५ तोला सुन र १० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । यस्तै एभरेष्ट बैंकमा एक लाख रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा देखिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला पनि धनी देखिएका छन् । उनको सल्यानमा भाइको नाममा, बर्दियामा आमाको नाममा र काठमाडौंमा आफ्नै नाममा घर छन् । यस्तै काठमाडौं, सल्यान र दाङमा जग्गा रहेको विवरणमा देखिएको छ । यस्तै उनीसँग नगद १५ लाख नगद, ३ तोला सुन र १० तोला चाँदी रहेको छ । एभरेस्ट बैंकमा १२ लाख, कृषि विकास बैंकमा चार लाख १० हजार र राष्ट्रिय वाणिज्य बैंकमा ५० हजार रुपैयाँ रहेको देखिएको छ ।

ज्वालाले छोरा र आफ्नो नाममा ५० लाख ६५ हजार बराबरको सेयर रहेको उल्लेख गरेका छन् । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढासँग १५ तोला सुन रहेको छ । डोल्पामा चार वटा घर र विभिन्न पाँच स्थानमा जग्गा भएका उनको बैंक खातामा भने रकम छैन । यस्तै सबैभन्दा गरिब देखिएकी सहकारी मन्त्री विमला केसीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा रुकुम, दाङ र सुर्खेतमा जग्गा देखिएको छ । उनको ग्लोबल आईएमई बैंकमा खाता भए पनि बचत शुन्य छ ।  अन्नपूर्ण पोष्ट

प्रतिक्रिया