छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु

छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु

अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा सर्पले मृत्यु भएकी जयाकी १८ वर्षीया पार्वती बुढा ।

अछाम — अछामको तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको  महिनावारी बार्न छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको छ । छाउगोठमा सुतेकी उनको दायाँ हातको औलामा सर्पले डसेको हो। पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन। साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन्। परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो।
पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन्। उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो। तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसंग सुतेको बताए।
छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफू कहाँ आएको बुढाले बताए। तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन्।
गत पुसमा मात्र सोही गाउँपालिका ३ भैरवस्थानको लकाद्रा की २२ वर्षकी गौरी बुढाको पनि छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको थियो। छाउपडी गोठमा सुतेको अवस्थामा २०६३ सालयता मात्रै १३ जना किशोरी तथा महिलाले ज्यान गुमाईसकेका छन्।

प्रतिक्रिया