सस्तोमा जग्गा बेच्न नमान्दा पुरुषकै अगाडि दिलमायाको लुगा च्यातियो

सस्तोमा जग्गा बेच्न नमान्दा पुरुषकै अगाडि दिलमायाको लुगा च्यातियो

अर्घखाँची–सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् ।

लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्वीकार गरेपछि रेखा गुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाउँदै कुटपिटका हुन् । उनीहरूले दिलमायालाई मैदानमा पछारेर लाठी र लात्तीले हान्दै लगाएको कपडासमेत च्यादिदिएको भिडियोमा प्रस्टै देख्न सकिन्छ ।

दिलमायामाथि रेखा र अनिता गुप्ताले आक्रमण गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको हो  । घटना शुक्रबारको भए पनि भिडियो सार्वजनिक भएसँगै सोमबार मात्रै घटनाबारे चर्चा भयो । भिडियोमा हरियो कुर्ता र रातो सुरुवाल लगाएकी दिलमायालाई रेखा र अनिताले निर्मम कुटपिट गरेको देखिन्छ । उक्त भिडियो भालुवाङ बसपार्कको हो ।

दिलमायामाथि आक्रमण गर्ने महिलालाई ‘मम्मी भयो के छाड्दिनुस्’ भनेर आग्रह गरेको भिडियोमा सुनिन्छ । तर, उनी रोकिएकी छैनन् । बरु लात्तीमुंग्रीले मात्रै नपुगेर दिलमायाको कुर्ता च्यातिदिएको देखिन्छ । अर्धनग्न भएकी दिलमाया च्यातिएको कुर्ताको टालोले लाज छोप्न खोज्छिन्, तर त्यो गर्न पनि दिँदैनन् ।

आइतबार भिडियो भाइरल भएपछि र दिलमायाका आफन्तको दबाबपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । प्रहरीले सामान्य घटनाका रूपमा हेरेको भालुवाङ घटना भिडियो सार्वजनिक भएसँगै तरंगित बन्योे । घटनाको भिडियो भालुवाङ निवासी रितु रानाले आफ्नो फेसबुक वालमा पोस्ट गरेकी थिइन् । सोमबार महिला समूह तथा दिलमायाका आफन्तले प्रहरी कार्यालय घेराउ गरे ।

उनीहरूले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब दिए पनि प्रहरीले केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । दिलमायालाई कुटपिट गर्ने राप्ती गाउँपालिकाकी ३५ वर्षकी रेखा गुप्ता र २९ वर्षकी अनिता गुप्तालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले बताए  ।

प्रतिक्रिया