कर्णाली प्रदेशको बजेट २३ अर्ब बढी

कर्णाली प्रदेशको बजेट २३ अर्ब बढी

सुर्खेत- कर्णालीमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २३ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ। प्रदेश सरकारले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदै छ। संघीय सरकारले उपलब्ध गराएको अनुदान, आन्तरिक स्रोत र विदेशी दाताहरूको सहयोगसमेत समावेश गरेर बजेट ल्याउन लागिएको सरकारले जनाएको छ।

केन्द्रको अनुदान, आन्तरिक स्रोत र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकम समावेश गरेर २३ अर्बको वास्तविक बजेट हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार वास्तविक बजेट २३ अर्ब भए पनि प्रदेशको आवश्यकतालाई ध्यान दिएर ठूलो आकारमा बजेट ल्याउन लागिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले २३ अर्बभन्दा बढीको बजेट ल्याउन लागिएको जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले घाटा बजेट ल्याउने तयारी गरेको हो ।

केन्द्र सरकारले आगामी वर्षका लागि कर्णालीलाई १६ अर्ब ६९ करोड बजेट उपलब्ध गराएको छ। यस्तै प्रदेशलाई ६ अर्बभन्दा बढी बजेट पनि केन्द्र्र सरकारबाट ससर्त अनुदान उपलब्ध भएको छ। ‘संघीय सरकारबाट समानीकरण र ससर्त गरी २२ अर्ब प्राप्त भएको छ’, मन्त्री ज्वालाले भने, ‘हाम्रो आफ्नै आन्तरिक स्रोत ५० करोड छ, चालु आर्थिक वर्षमा खर्च नभएर बचत भएको ५० करोड रकमसमेत जोडेर २३ अर्बको वास्तविक बजेट तयार गरेका छौं ।’ वास्तविक बजेट २३ अर्बको भए पनि घाटा बजेट ल्याउन लागिएकाले बजेटको आकार ठूलो हुने प्रदेश सरकारले जनाएको छ। जसअन्तर्गत प्रदेश सरकारले केन्द्र सरकारसँग ऋण लिने, आन्तरिक स्रोत बढाउने र वैदेशिक दाताहरूसँगको अनुदान पनि संकलन गर्ने तयारी गरेको छ। लगानीकर्ताको स्रोतलाई आधार मानेर पनि बजेटको आकार बढाएर ल्याउन लागिएको मन्त्री ज्वालाको भनाइ छ।

यसअघि चालु आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि ल्याइएको एक अर्ब दुई करोड बजेट प्रदेश सरकारले खर्च गर्न सकेको छैन। उक्त बजेटमा हालसम्म जम्मा ६ प्रतिशत मात्र खर्च भएको र बजेट कार्यान्वयन गर्न नसकिरहेको प्रदेश सरकारले आगामी बजेट भने ठूलो आकारमा ल्याउन लागेको हो। हालै सार्वजनिक नीति तथा कार्यक्रमलाई नै आधार मानेर बजेट ल्याइने प्रदेश सरकारले जनाएको छ।

‘हाम्रो राजस्व संकलन निकै कमजोर छ, अनुदानकै भरमा बजेट ल्याउनुपर्ने बाध्यता छ’, आर्थिक मामिला मन्त्री ज्वालाले भने, ‘हाम्रो प्रदेशमा लगानी गर्न वैदेशिक विकास साझेदारहरू निकै इच्छुक छन्, उनीहरूबाट प्राप्त हुन सक्ने अनुदान सहयोग आकलन गरेर ठूलो आकारमा बजेट ल्याउँदै छौं।’ बजेट निर्माण सकिएको भन्दै उनले यसपटकको बजेट उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने खालको हुने दाबी गरे ।

प्रतिक्रिया