औषीधको विश्वास गर्दै राउटे समुदाय

औषीधको विश्वास गर्दै राउटे समुदाय

क्याप्सन – दैलेखको खानीचौरमा बसोबास गरिएका राउटे समुदायमा उपचार गर्दै स्वास्थ्यकर्मी ।

दैलेख असार २- कुनै समय थियो, जस्तो सुकै विरामी पर्दा पनि राउटे समुदाय जंगलमै पाइने जडिबुटीबाट उपचार गर्थे । सामान्य देखि गम्भिर बिरामी पर्दा होस वा चोटपटक लाग्दा राउटेहरु उपचारका लागि जंगलकै जडीबुटी प्रयोग गर्थे । हरेक राउटे महिला जीवन जोखिममा राखेर बच्चा जन्माउँथे, परिआयो भने जीवन नै गुमाउँथे, त्यो पनि जंगलमै । वनजंगलमा जीवनयापन गर्दै आएका यो समुदायमा स्वास्थ्य चौकी, अस्पताल होस या मेडिकलमा उपचार गर्न जान डराउथे । नेपाल सरकारले स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने महिलाहरुलाई भत्ताको व्यवस्था गरेपछि गैरराउटे स्वास्थ्य संस्थामा सुरक्षित बच्चा जन्माउन थाले पनि राउटे समुदायका महिलाहरु अझै पनि बस्तीमै असुरक्षित बच्चा जन्माई रहेका छन् ।
नेपालको सम्पदा मानिने दक्षिण एशियाको एक मात्र भ्रमणशिल जाति राउटे समुदाय भगवानको भरोषा छ, भन्दा पनि फरक पर्दैन । भगवानले जुन मानिसलाई जस्तो गरि जन्माउछ, त्यसैगरि मर्ने गरेको राउटे महामुखिया महिन बहादुर शाहीले बताउछन् । हाम्रो पुर्खादेखी यसरी नै बच्चा जन्माउँछन । म पनि त्यसरी नै जन्मिएको हुँला, अहिले सम्म हाईसञ्चो छ, महामुखिया शाहीले भने ।
बस्तीमा सुत्केरी हुँदा पाँच वर्ष अघि दैलेखको लोहोरखोलामा बसोबास गरिरहेको समयमा अत्याधिक रक्तश्रावले गर्दा एक महिलाको मृत्यु भएको थियो । तर राउटे समुदायका अगुवा सुर्यनारायण शाही भने उसको बाच्ने दानापानी त्यही थियो, रगत बगेर मरेको उनि बताउछन् । हाम्रा अरु महिला पनि बच्चा पाउँछन, मरेका छैन । भगवानले त्यसको लिला त्यहीसम्म दिएको रहेछ उनले थपे ।
प्रसुती गराउन स्वास्थ्य संस्थामा नगएपनि पछिल्लो समय यो समुदाय अाैषधीकाे विश्वास गर्न थालेका छन् । सधै जंगलको जडीबुटीमा विश्वास गर्ने यो समुदाय भने पछिल्लो समय ब्रोफिन, मुभ, इन्जेक्सन लगायतका औषधीको उपचारमा विश्वास गर्न थालेका छन् । केही बर्ष अगाडी महिनबहादुर शाहीकी पत्नी दुनी शाहीको खुट्टा क्यान्सर भएको थियो । काठमाण्डौं गएर खुट्टाको अप्रेशन गरेपछि आजभोली ठम्म ठम्म हिड्दै गाउँ डुल्ने गरेको महामुखिया शाहीले बताए । मेरो बुढीको उपचार काठमाण्डौका गुप्तबहादुर श्रेष्ठ डाक्टर सापले गर्नुभएको हो, पैसा लिनु भएन, निशुल्क उपचार गरिदिनुभयो, आजभोली सञ्चो छ, हिडडुल गर्न सक्छ, शाहीले भने । बस्तीमा बुझेकाले औषधी गर्छन । कोहीले घाउ दुख्ने डरले औषधी उपचार गर्न मान्दैनन् । सबै बुझेका कहाँ हुन्छन र, उनले प्रश्न गरे ।
उपचारमा स्वास्थ्य संस्थामा नगएपनि बस्तीमा उपचार गर्न आउँदा सजिलै स्वीकार गर्ने गरेको सोही ठाउँका टिका बुढाले बताइन् । पहिले राउटे औषधी उपचार गर्न मान्दैन भन्ने सुनेको थिए । यसपाली घर नजिकै बसोबास गर्दा थाहा भयो, गाउँपालिकाबाट आएका स्वास्थ्यकर्मीसंग विभिन्न किसिमका औषधी माग्न थालेका छन्, उनिहरुले आफ्नो समस्या बताउने गरेको छन् । उनले थपिन् सजिलै औषधी गर्दछन् । तर महिलाले भने त्यति औषधीमा विश्वास गर्दैनन् ।

प्रतिक्रिया