श्रममूलक शिक्षा प्रणालीलाई जोड दिनुपर्छ :मुख्यमन्त्री शाही

श्रममूलक शिक्षा प्रणालीलाई जोड दिनुपर्छ :मुख्यमन्त्री शाही

सुर्खेत असार ८

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले श्रममूलक शिक्षा प्रणालीलाई जोड दिने बताएका छन्। श्रम विना विकास असम्भव भएकाले मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसँग जोड्नुपर्ने बताए। एसओएस बालग्राम सुर्खेतको आयोजनामा शुक्रबार भएको अन्तर्राष्ट्रिय एसओएस दिवसलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले शिक्षा आर्जन गरिसकेपछि श्रमबाट भाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए। ‘अहिले पनि थुप्रै विद्धानहरू झोलामा ल्यापटप बाेकेर हिड्नु हुन्छ।

पावर प्वाइन्ट प्रिजेण्टेशन देखाउनुहुन्छ अब यसले पुग्दैन।’ मुख्यमन्त्री शाहीले भने, ‘कृषि विज्ञ हो भने देशमा स्याउ, सुन्तला र आँप  फलाउनुपर्यो। आफूले आर्जन गरेको ज्ञानलाई उत्पादनमा व्यक्त गर्नुपर्याे’ मुख्यमन्त्री शाहीले अहिलेको शिक्षा प्रणालीमा पनि आमूल परिवर्तनको आवश्यकता रहेको पनि औंल्याए। मुलुकको गरिवी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेकोले मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसँग जोडिने शिक्षा प्रणाली विकास गर्नुपर्ने बताए।

सामाजिक, आर्थिक र साँस्कृतिक कारणले शिक्षा क्षेत्रबाट वञ्चित वालवालिकालाई शिक्षित गराउन एसओएस वालग्राम विद्यालयले महत्वपूर्ण भूमिका खेलेकोमा मुख्यमन्त्री शाहीले प्रशंसा गरे। शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठूलो योगदान रहेकाले राम्रो काम गर्ने गैरसरकारी संस्थासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीको भनाइ छ।

प्रतिक्रिया