डेढ दशकदेखि ओढारमा बास

डेढ दशकदेखि ओढारमा बास

दैलेख असार ९ ।
कर्णाली राजमार्ग अन्तरगत पर्ने घट्टेखोला । सडकको कुनामा एउटा ठूलो ढुंगे ओढार । त्यहि ढुंगे ओडार भित्र गाँस, बास मात्र नभई व्यवसाय समेत सञ्चालन गरेको छन् । यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् । दैलेख जिल्लाको आठबिस नगरपालिका–५ स्थित पिपलबोट घट्टेखोला नजिकैको ओढारमा विगत १६ वर्षदेखि चिया, खाजाको व्यवसाय गरी जीविकोपार्जन गर्दै पुलामी दम्पतीले उक्त उखानलाई व्यवहारमा उतारेका हुन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १ सय ३० किलोमिटर पश्चिमतर्फ पर्ने कर्णाली राजमार्ग सडकखण्डको छेउमै रहेको ओढारमा चिया, तरकारी, माछा मासुलगायत विभिन्न परिकार बनाएर बिक्री गर्दै आएको ७३ वर्षीया गंगादेवी पुलामीले बताइन । उनका अनुसार स्थानीय बासिन्दा तथा यातायातका साधनमा आउने ग्राहकसमेत खाजा खानुको साथै फोटो खिच्दै रमाउने गरेका छन् ।
‘ढुंगे ओढारमुनि पानीबाट पनि ओत लागिएकै छ, अहिलेसम्म सर्प लगायतका विषालु किरा तथा जंगली जनावरले कुनै पनि दुःख दिएका छैनन’ उनले भनिन्, ‘ओढारमा आउने ग्राहकलाई कालो चिया १५ र दूध चिया २० रूपैयाँमा बेच्ने गरेकी छु ।’
२०४१ सालदेखि नजिकै रहेको किटु बस्तीबाट खोलामा पिसानीको साधन घट्ट सञ्चालन गरेर स्थानीयलाई सुविधा दिनुका साथै आयआर्जनका लागि खोलामा झरेका पुलामी दम्पतीका लागि अन्ततः ढुंगे ओढार बासस्थानका रुपमा परिणत भएको हो । ओढारको अघिल्लो भाग सडक छेउमा जस्तापाताले छाएको छानामुनि राखिएको काठको बेञ्चमा ग्राहकलाई बस्ने व्यवस्था मिलाइएको छ । साथै माटोको चुलोमा दाउरा प्रयोग गरेर पकाएको चिया र खाजाको स्वाद ग्राहकलाई चखाउनु गंगादेवीको दैनिकीनै बनेको छ । दैलेख कालीकोट बाटो २०५१ सालमा खोलेपछि विस्तारै घट्टको प्रयोगमा कमी आएसँगै अन्ततः एक वर्षयता पूर्णरुपमा नै बन्द भएको ७५ वर्षीया भुवानीसिंह पुलामीले भने ।
‘ओढारमा हामी एक्लै हुँदैनौं । छोरा बुहारी, छोरी, नातिनातीना सबैले रेखदेख सहयोग गर्दै आएका छन, उनले भने, ‘गर्न सकेसम्म गर्ने र ओढारमै मर्ने सोच बनाएका छौँ ।’ दुई छोरा दुई छोरीका साथै आठ नातिनातिनाका अभिभावक पुलामी दम्पती नयाँ आधुनिक घर भएर पनि ओढारमा नै बस्न रुचाउने गरेको छोरा अक्कल बहादुर पुलामीले जानकारी दिए । ‘बुबा आमा यही रमाउनुभएको छ, विभिन्न पर्वमा पनि यही बस्ने भएपछि परिवार सहित आफन्त एवं इष्टमित्र यही आउने गरेका छन्’ उनले भने, ‘उहाँहरू यही ओढारमा रमाउने गरेका कारण पनि चाडपर्वमा हामी सबै यही आउने गरेका छौँ ।’ सुविधा भोगी प्रवृत्ति बढ्दै गएको वर्तमान अवस्थामा घर परिवारभन्दा पनि ओढार रोज्नु र त्यही रमाउनु आफैंमा अनुकरणीय भएको कर्णाली राजमार्गमा ओहोर दोहोर गर्ने यात्रीहरुको धारणा छ ।

प्रतिक्रिया