बल्झियो सीमा विवाद

बल्झियो सीमा विवाद

असार १० मुगु — मुगु र जुम्लाको सीमा विवाद मिलाउन दुवै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको बैठक बसे पनि सहमति जुट्न सकेको छैन ।मुगुबाट छायानाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीको नेतृत्वमा ६ जना र जुम्लाबाट कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरवीर रावतसहित तीनजना जनप्रतिनिधिको टोली सीमा क्षेत्र घुच्चीडाब पुगेको हो ।
जनप्रतिनिधिबीच सीमाबारेमा सहमति भने जुट्न सकेको छैन । मुगु र जुम्लाको सिमानाको सिप्टीचौर क्षेत्र आफ्नो जिल्लामा पर्ने भन्दै स्थानीय बासिन्दाका बीचमा लामो समयदेखि विवाद हुँदै आएको छ । कनकासुन्दरी गाउँपालिका–१, जुम्ला र मुगु पिनागाउँका बासिन्दाबीच आफ्नो भोगाधिकार क्षेत्रबारे विवाद छ ।यसअघि मगुको छायानाथ रारा नगरपालिकाले जुम्ला र मुगुको सिमाना छुट्याउन घुच्चीडावमा स्वागतद्वार निर्माण सुरु गरेको थियो । कनकासुन्दरीका बासिन्दाले जुम्लामा पर्ने भन्दै अवरोध गरेपछि दुवै जिल्लाका बासिन्दाबीच विवाद बढेको छ । बैठकमा दुवै पक्षका जनप्रतिनिधिले आफ्नो दाबी नछोडेपछि विवाद मिल्न सकेन । तर, मुगुका जनप्रतिनिधिले स्वागतद्वारका लागि शिलान्यास गरेर फर्केका छन् ।
छायानाथ रारा–७ का वडाध्यक्ष हरिचन्द्र शाहीले मुगुका स्थानीयले पहिलेदेखि नै चरन क्षेत्रको रूपमा भोगचलन गर्दै आइरहेको बताए । ‘रारा राष्ट्रिय निकुञ्जले उपभोक्ता समिति गठन गरेर काठ र दाउरा उपभोग गर्दै आएको छ,’ उनले भने, ‘नक्सामा पनि सिप्टीचौर मुगुमै देखिएको छ ।’

सिप्टीचौर जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पर्ने त्यहाँका अध्यक्ष नरवीर रावतले बताए । उनले विवाद नहुने गरी सिमानाको विवाद मिलाउनुपर्ने तर्क राखे । ‘जुम्ला र मुगुबीच पहिलेदेखि नै मानवीय र व्यापारिक सम्बन्ध गहिरो भएकाले सिमाना विवादलाई ठूलो बनाउन हुँदैन,’ उनले भने, ‘त्यसैले फेरि अर्को बैठक बसेर सिमाना विवाद टुंग्याइनेछ ।’

प्रतिक्रिया