नारायण नगरले ल्यायो ४५ करोड बजेट

नारायण नगरले ल्यायो ४५ करोड बजेट

प्राथमिकतामा चक्रपथ देखि कोटिलामा मानव निर्मित ताल सम्म

 

हिक्मत नेपाली
दैलेख – नारायण नगरपालिका दैलेखले समृद्ध नगरपालिका निर्माण गर्न विभिन्न योजनाहरुलाई प्राथमिकतामा राखेको छ । दोस्रो आर्थीक बर्ष २०७५÷०७६ को निती, कार्यक्रम तथा बजेटको खाकामा समृद्ध नगर निर्माण गर्ने गरि योजनाहरुलाई प्राथमिकतामा राखिएको हो । नारायण नगरपालिकाका नगर उप–प्रमुख सावित्री मल्ल द्धारा प्रस्तुत नगरपालिकाको निती, कार्यक्रम तथा बजेटको खाकामा १८ बुँदे योजनाहरुलाई प्राथमिकतामा राखिएका छ । नगरको पहिचान उत्थान तथा समृद्धिका लागि नगर क्षेत्रमा विकास गर्न योजनाहरु प्राथमिकतामा राखिएको हो ।

नगरपालिकाले आगामी आर्थीक बर्षका लागि प्रस्तुत गरेको बार्षिक निती तथा कार्यक्रममा नगर चक्र पथ निर्माण देखि कोटिलामा मानव निर्मित ताल बनाउने योजनालाई प्राथमिकतामा राखेको छ । नगरपालिकाको प्राथमिकतामा परेका योजनाहरुमा नारायण नगर चक्रपथ, कोटीलामा मानव निर्मित ताल, नारायण नगरपालिका १० मा जडिबुटी उध्यान तथा प्रशोधन केन्द्र निर्माण रहेको छ । यस्तै राइली त्रिपानी पर्यटकिय क्षेत्र निर्माणका लागि पूर्वाधार विकास, जिल्ला अस्पताल दैलेखलाई ५० शैयामा स्तर बृद्धि गर्ने, नगरबासीलाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने योजनाहरु अघि सारिएको छ । यसैगरि दैलेख श्रीस्थान, नाविस्थान, पञ्चकोशी मार्ग स्तरउन्नती, वडा नं. १, २, ६ र ७ मा रहेको मर्मत तथा संरक्षण, प्रदेश स्तरिय रंगशाला निर्माण, वडा नं. १, ४ र ९ मा स्वास्थ्य चौकी निर्माणलाई प्राथमिकतामा राखिएको छ ।
नगरपालिकाले गणेशथान मन्दिर निर्माण, भैसेखोर मन्दिर निर्माण, कृषि हाटबजार व्यवस्थापन लगाएतका योजनाहरुलाई प्राथमिकतामा राखेको छ । नगरसभाको हलका जग्गा छनौट भई भवन निर्माणको लागि शहरी विकास मन्त्रालयमा अनुरोध गरि पठाइएको निती तथा कार्यक्रममा समावेश गरिएको छ । आगमी बर्षको निती तथा कार्यक्रममा नारायण नगरपालिकामा औधोगिक ग्राम स्थापनाका लागि उपयुक्त स्थान छनौट गरि बजेट व्यवस्थापनका लागि केन्द्र सरकार संग अनुरोध गर्ने, मध्य पहाडी सडक खण्डको विक्रम चौर देखि छामघाट खोला सम्मको सडक खण्डको स्तरउन्नती कालोपत्रेका लागि केन्द्र सरकार संग अनुरोध गरिने उल्लेख छ ।
त्यसैगरि सुर्खेत दैलेख महावु सडक स्तरउन्नती र कालोपत्रेका लागि केन्द्र सरकार संग बजेट माग गर्ने, नगर प्रवेश द्धार चुप्रा क्षेत्रमा पार्क तथा मिनी जु (चिडियाखाना) व्यवस्थापन गर्ने योजनाहरु प्राथमिकतामा राखिएको छ ।
नगरपालिकाले आगामी आर्थीक बर्षका लागि प्रस्तुत गरेको निती तथा कार्यक्रममा कृषि, पशु, रोजगारी सृजना, पर्यटन विकास, घरेलु तथा साना उद्योग, शिक्षा, गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रबृती प्रदान, खानेपानी खेलकुद, महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपांग लगाएतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

नगरपालिकाले आगामी आर्थीक बर्षको कार्यक्रमहरु कार्यान्वयका लागि ४५ करोड ७ लाख ४३ हजार रुपैया विनियोजन गरेको छ । जसका चालु तर्फ ८ करोड ९६ लाख, ७६ हजार रहेको छ भने पुँजिगत तर्फ १२ करोड १७ लाख रुपैयाँ रहेको छ । शर्शत अनुदान चालु र पुँजिगत खर्च समेत गरि २३ करोड ९३ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया