बालबालिका लक्षित बजेट विनियोजन गर्न माग

बालबालिका लक्षित बजेट विनियोजन गर्न माग

दैलेख असार १२,
नागरिक समाज दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा बालबालिका लक्षित बजेट विनियोजन गर्न माग गरेको छ । स्थानीय तहको पुर्नसंरचनासंगै स्थानीय तह आगामी आर्थीक बर्ष २०७५/०७६ को लागि बजेट विनियोजन, योजना छनौट, नीति तथा कार्यक्रमको तयारीका चरणमा रहेका बेला नागरिक समाज दैलेखले बालबालिका लक्षित बजेट विनियोजन गर्न माग गरेको छ । योजना तर्र्जुमाका सात वटा चरण मध्य स्थानीय तहले वडास्तरको योजना तर्जुमा गरि विषयगत समिति र योजना तर्जुमा समितिका नीति तथा कार्यक्रम छनौट गर्नुपर्ने नीतिगत व्यवस्था छ । नीति गत रुपमा व्यवस्था भएपनि स्थानीय तहको योजना तर्जुमामा बालबालिकाहरुका सवाललाई नसमेटिएको भन्ने गुनोसोहरु आइरहेको भन्दै स्थानीय तहको योजना तर्जुमाबाट बालबालिका लक्षित बजेट विनियोजन गर्न नागरिक समाज दैलेखले अनुरोध गरेको हो ।
विगतको स्थानीय निकायलाई बालबालिका लक्षित बजेट विनियोजन तथा कार्यान्वयन गर्न ऐन, नियम र कार्यविधिले अनिवार्य व्यवस्था गरेको थियो । स्थानीय श्रोत परिचालन निर्देशिका, न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्यांकन, लैङ्गिक बजेट विनियोजन निर्देशिका लगायतले महिला तथा बालबालिकाको क्षेत्र बजेट विनियोजन तथा कार्यान्वयनको लागि बाध्यकारी व्यवस्था गरेको थियो । जस अनुसार स्थानीय निकायले १० देखि १५ प्रतिशत सम्म बजेट विनियोजनको अभ्यास गरेका थिए । स्थानीय तहको पुर्नसंरचनासँगै बालबालिकाको बजेट विनियोजनका लागि स्पष्ट नीति र मार्गदर्शनको अभावमा स्थानीय तहको प्राथमिकतामा बालबालिकाका सवालहरु समेटिन नसकेको नागरिक समाज दैलेखको बुझाई छ ।
बालबालिकाको बजेट विनियोजन माग गर्दै नागरिक समाज दैलेखले मंगलवार नारायण नगरपालिका प्रमुख रत्न बहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका छन् । दैलेखका ४ नगरपालिका र ७ गाउँपालिका गरि ११ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तरगत नारायण नगरपालिकामा ज्ञापन पत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा भनिएको छ “बालबालिका हामी सबैका सरोकारका विषय हुन्, जोखिममा परेका, परिवार विहीन वा परित्याग गरिएका बालबालिकाको अभिभावक स्थानीय सरकार हो, स्थानीय सरकारले त्यस्ता बालबालिकाको लागि अभिभावकीय भूमिका निर्वाह गर्नु राज्यको दायित्व हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा बालमैत्री वडा, गाउ तथा नगर बनाउने व्यवस्था गरेको छ । ऐनमा व्यवस्था गरिए अनुसार स्थानीय तहलाई बालमैत्री बनाउन स्थानीय तहको योजना तर्जूमामा बालबालिकाको सहभागितामा बजेट विनियोजन र कार्यान्वयनका लागि सुनिश्चितता गर्न नागरिक समाजले अनुरोध गरेको छ ।
ज्ञापन पत्र बुझ्दै नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले बालबालिकाका क्षेत्रका बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । बालबालिकाको शिक्षाको क्षेत्रमा पंचबर्षिय योजना बनाएर काम गर्न लागेको बताउदै नगरप्रमुख खड्काले नगर भित्र गरिबीको रेखामुखी रहेका बालबालिकाहरुलाई प्राविधिक शिक्षा पढाउनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पहल थालेको जानकारी गराए ।
ज्ञापन पत्र बुझाउन गएको नागरिक समाजको टोलीसंग नगर प्रमुख खड्काले भने “तपाईहरु बालबालिकाको क्षेत्रमा काम गर्ने गरि कार्यक्रम बनाउनुस्, हामी बजेट विनियोजन गर्छौ ।”
नागरिक समाज दैलेखका अध्यक्ष खड्क बहादुर सिजापतिको टोलीले जिल्ला सदरमुकामका होटलमा बाल श्रमिकको रुपमा काम गरिरहेका बालबालिकाहरुलाई व्यवस्थापनका लागि पहल थाल्न आग्रह गरेका थिए ।

प्रतिक्रिया