डा.केसीको जीवनरक्षाका लागि दीप प्रज्वलन

डा.केसीको जीवनरक्षाका लागि दीप प्रज्वलन

सुर्खेत- चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै सुर्खेतमा दीप प्रज्वलन गरिएको छ। चिकित्सक संघ सुर्खेतको आयोजनामा सोमवार साँझ वीरेन्द्रनगरमा दीप प्रज्वलन गरिएको हो।

संघका अध्यक्ष नवराज केसीले डा. केसीले उठाएका माग चिकित्सा शिक्षाको सुधारका साथै आम गरीब नागरिकले सर्वसुलभ रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्नका लागि भएको भन्दै उनले उठाएका मागहरू पूरा गरिनुपर्ने बताए।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र केही माफियाहरूको जालमा पर्दै जान थालेकोले डा. केसीले त्यसकाविरुद्ध पटक–पटक सत्याग्रह गर्नुपरेको उनको भनाइ थियो। साथै उनले केसीका माग पूरा गराउन र उनको जीवनरक्षाका लागि आफूहरू जस्तोसुकै कडा कदम चाल्न पनि तयार रहेको बताए।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेण्डेन्ट डा.डम्मर खड्काले डा.केसीका माग आम नागरिकको पक्षमा भएको बताए। उनले डा। केसीका माग तत्काल पूरा गर्न र उनको जीवनरक्षा गर्न सरकारसँग माग गरे।

अर्का डा।मंगल रावलले जनताको पक्षमा आफ्नो स्वास्थ्यको समेत प्रवाह नगरी अनशनमा बसेका डा। केसीको पक्षमा सबैले आवाज उठाउनुपर्ने बताए। ‘डा। केसीले उठाएको आवाज आम नेपाली नागरिकको अवाज हो’ उनले भने, ‘त्यसकारण उनलाई हामी सबैले साथ दिनुपर्दछ।’

यसैबीच नेपाल औषधि व्यवसायी संघ सुर्खेतका अध्यक्ष प्रेमबहादुर भण्डारीले पनि चिकित्सा शिक्षाको सुधारसहितका डा।केसीले उठाएका माग र उनको समर्थनमा चिकित्सक संघले चालेको कदममा आफूहरूको पनि साथ रहेको बताए।

प्रतिक्रिया