कर्णालीकाे आर्थिक विकासमा पर्यटनको महत्त्वपूर्ण भूमिका- मुख्यमन्त्री शाही

कर्णालीकाे आर्थिक विकासमा पर्यटनको महत्त्वपूर्ण भूमिका- मुख्यमन्त्री शाही

दैलेख – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले पर्यटनको विकासका लागि सरोकारवाला निकाय संग सहकार्य गरेर जान तयार रहेको बताएका हुन्।

अन्तरक्रियामा कर्णाली वन वातावरण उद्योग पर्यटन मन्त्री नन्दसिङ्ग बुढाले सरकारले पर्यटनलाई प्राथमिकता राखेको भन्दै यहाँका नागरिकको जीवनस्तर माथि उठाउनका लागि ग्रामीण पर्यटनलाई जोड दिनुपर्ने धारणा राखे।  मन्त्री बुढाले कर्णाली रारा पर्यटन वर्ष सफल पार्न कर्णाली सरकारको अहिलेको पहिलो प्राथमिकता भएको भन्दै पर्यटन र उद्योग सँगसँगै जोडेर लैजाने बताए। नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय अध्यक्ष धनीराम शर्माले कर्णालीमा प्रशस्त पर्यटकीय सम्भावना रहेको भन्दै प्रदेश सरकार र स्थानीय सरकार सहकार्य गरेर जानुपर्ने बताए ।
अन्तरक्रियामा हरीहर न्यौपानेले कर्णालीमा विभिन्न साहसिक खेल, घोडा सवारी, जल यात्रा, प्यारागलाडिङ, धार्मिक तथा सास्कृतिक पर्यटन तथा पदमार्गको सम्भावना रहेको कार्यपत्र प्रस्तुत गरेका हुन्।

उनले कर्णालीमा अहिलेसम्म ९२ वटा पर्यटकीय क्षेत्र पहिचान भएको भन्दै अब नयाँ क्षेत्रहरूको खोजी गर्नुपर्ने बताए। अन्तरक्रिया कार्यक्रमलाई समापन गर्दै नेपाल पर्यटन पत्रकार संघ कर्णाली प्रदेशका अध्यक्ष अशोककुमार सिंहले जसरी स्वास्थ्यमा विभिन्न रोगका चिकित्सक हुन्छन् त्यसरी नै पत्रकारहरूले पत्रकारिता क्षेत्रमा कलम चलाएर पर्यटन प्रवर्द्धन गर्नु पर्ने बताए ।

प्रतिक्रिया