गुरासँ गाउँपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स सेवा सुरु
क्याप्सन – गुरासँ गाउँपालिकामा खरिद गरि ल्याइएको एम्बुलेन्स । तस्विर- हिक्मत बहादुर नेपाली
दैलेख ५ भदौ
जिल्लाको गुराँस गाउँपालिकाले शुलभ दरमा एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने लक्ष सहित गाउँपालिकाले एम्बुलेन्स खरिद गरि संचालनमा ल्याएको हो । नागरिकहरुलाई सहज सेवा उपलब्ध गराउने लक्ष सहित गाउँपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरि संचालनमा ल्याएको छ । एउटा एम्बुलेन्स गाउँपालिकामा बन्दै गरेको गुरासँ अस्पतालमा रहने छ भने अर्को एम्बुलेन्स गाउँपालिकाको वडा नंं ८ को धरमपोखरामा राखेर नागरिकहरुलाई सेवा प्रदान गरिनेछ । गुराँस अस्पाताल पूर्ण रुपमा संचालन नआउन्जेल सम्म एम्बुलेन्स गाउँपालिका कार्यालयमा रहने छ । गाउँपालिकाको वडा नं. १ देखि ४ सम्मको नागरिकलाई गाउँपालिकामा राखिएको एम्बुलेन्सबाट सेवा दिइने छ । त्यस्तै गाउँपालिकाकै धरमपोखरामा रहने एम्बुलेन्सको प्रयोग वडा नम्बर ५ देखि ८ सम्मका जनताले गर्नेछन् ।
नागरिकहरुलाई सस्तो दरमा सेवा दिने लक्ष राखेर एम्बुलेन्स खरिद गरि संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जनाए । गरिब जनतालाई यसले सबैभन्दा धेरै लाभ मिल्नेछ, अध्यक्ष ओलीले भने । गुराँस गाउँपालिकाका जुनसुकै स्थानबाट कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा रहेका अस्पतालमा उपचारका लागि लैजाँदा २५ सय रुपैयाँ शुल्क लाग्ने गाउँपालिकाका अध्यक्ष ओलीले बताए । उनका अनुसार गाउँपालिका भित्रका नागरिकहरुलाई नेपालगंज सम्म लैजादा ५५ सय रुपैयाँ शुल्क लाग्नेछ । गुराँस गाउँपालिका बाहेक अन्य ठाउँका बिरामी बोक्नु परे अन्य निजी तथा सरकारी एम्बुलेन्सले लिने शुल्क भन्दा ५ सय कम गरि सेवा दिइने अध्यक्ष ओलीले जनाए । गुराँस गाउँपालिकाले टेन्डर आह्वान गरि २० लाख ५८ हजारमा दुईवटा एम्बुलेन्स खरिद गरेको हो ।
दुई वटा एम्बुलेन्स खरिद गरि नागरिकहरुलाई सहज स्वास्थ्य सेवा प्रदान गरेसंगै अब गाउँपालिकामा विकासको अध्याय शुरु भएको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीको भनाई छ । ‘गाउँपालिकामा पाँचवटा संस्थागत विकासका काम सफल भएको, अब जनशक्ती विकासमा लाग्नेछौ,’ अध्यक्ष ओलीले भने । स्वास्थ्य क्षेत्रको सुधारको लागि गाउँपालिकाका प्रत्येक वडामा स्वास्थ्य इकाई संचालनमा ल्याएको ओलीले बताए । उनले आर्थीक अवस्था कमजोर भएका नागरिकहरु पनि स्वास्थ्य सेवाको पहुँचमा पुगेको बताउदै हरेक विकास जनताको पहुँचमा पुग्ने बताए । गुराँस गाउँपालिकाले आफ्नै एम्बुलेन्स संचालनमा ल्याएपछि स्थानीय नागरिक खुसी भएका छन् । गुराँस गाउँपालिका ४ का टेक बहादुर बोहोराले अब गरिब जनताले पनि शुलभ स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे । सिंहदरबारको अधिकार गाउँमा भन्ने नाराले बल्ल सार्थकता पाएको स्थानीय नरेन्द्र शाहीले प्रतिक्रिया दिए । विगतमा यहाँका नागरिकहरुलाई स्वाथ्यको क्षेत्रमा खतरा रहेको भन्दै त्यो खतरा कम भएको स्थानीय भुपेन्द्र खड्काले बताए । यहाँका जनतालाई स्वास्थ्य समस्या हुँदा ६ देखि ८ हजार तिरेर बाहिर अस्पताल जानुपर्ने बाध्यता हटेर गएको छ ।
प्रतिक्रिया