कर्णाली किनारमा गिट्टी कुट्नेहरुको कथा

कर्णाली किनारमा गिट्टी कुट्नेहरुको कथा

क्याप्सन : एक बर्षिया छोरालाई काखमा राखेर गिट्टी कुट्दै राकमकी मिमसरा वि.क.,साथमा ३ बर्षिया छोरी ।

दैलेख –दैलेखको पश्चिममा पर्ने आठवीस नगरपालिकाको राकमकर्णाली पुगेर हामीले कर्णाली नदिको उर्लदो भेल हे¥यौ । कर्णाली नदि किनार, राकमका केहि स्थानीय विपन्न नागरिकहरुले गिट्टी कुट्नका लागि थुपारेको ढुंगाको थुप्रो देख्यौ ।

तिनै विपन्न नागरिकहरुले हातमा फोका उठाई–उठाई कुटेर राखेका गिट्टीको थुप्रो खोज्यौ । मध्यान्नको चर्को गर्मीमा नदि किनारमै केहि स्थानीयहरुको झुण्ड देख्यौ । त्यहि झुण्डको विचमा दुधे बालकलाई काखमा राखेर गिट्टी कुट्दै गरेकी एक युवतीको दृष्य देख्यौ । असार अन्तिम साता, कर्णाली नदिको उर्लदो भेल । लगातार ढुंगासंग खेलिरहेका स्थानीयलाई कर्णाली नदिको कुनै प्रवाह थिएन् ।
काखमा दुधे बालक र छेउैमा अर्की छोरीको ख्याल गर्दै गिट्टी कुट्ने युवती झट्न हेर्दा १८ बर्ष पुगेझै देखिन्थन् । तर उनले आफु २० बर्ष पुगेका बताइन् । उनि थिइन् मिमसरा वि.क. । बिहानभरी घरायसी काम सकेर मध्यान्न १२ बजेको चर्को घाममा गिट्टी कुट्न तल्लीन मिमसराका दुःखहरु उनका अनुहारले प्रस्टै झल्काउथ्यो । उनि संगै उनका श्रीमानको बारेमा बुझ्न खोज्यौ, तर आँखा भरि आसु पारिन् ।

श्रीमाने घरपरिवारको दुःख सुःखमा सहयोग नगरेको उनले बताइन् । गिट्टी कुटेर नाबालक छोरा छोरी, सासु ससुराको हेरचाह गरेको छु, उनले भनिन्, ‘गिट्टी कुटेर मात्र घरपरिवार चलाउन निकै मुस्किल परेको छ ।’
मिमसराका दुःखहरु केलाउदाँ केलाउदै उनको नजिकै सोहि ठाउँका एक बृद्ध जोडि भेटिए । चित्रा वि.क. र रण बहादुर वि.क. । ५ बर्ष देखि गिट्टी कुटै आएका यि बृद्ध बृद्धाको कथा बेग्लै छ । ७५ नाघेका रण बहादुर र ७० नाघेकी चित्राका छोराहरु मजदुरीका लागि भारत लागे, तर फर्केर आएनन् । उनिहरुले भने ‘घर चलाउन अन्य स्रोत केहि छैन्, ५ बर्ष देखि गिट्टी कुटेर दिन काटेका छौ ।’
उनिहरु जस्तै सोहि ठाउँकी ४० बर्षिया दुर्गा नेपालीको कथा ददएनाक छ । दुर्गा पनि एका विहानै कर्णाली किनारमा पुग्छिन् । ढुंगाको थुप्रो नजिकै पुगेर सुस्केरा हाल्छीन् । त्यसपछि सुरु हुन्छ दुर्गाको दिनचर्या । नगरपालिकाको कार्यालय नजिकै रहेको कर्णाली किनारमा गिट्टीको थुप्रो हेर्दै टोलाउछिन् । हातमा उठेका फोका हेर्दै उनि भावुक बन्छिन् ।

आफुले कुटेका गिट्टी हेर्दै वरिपरि रहेका ढुंगा आसार्दै एक ठाउँमा जम्मा गर्छिन् । एक हातमा हतौडा र अर्को हातमा पुराना चप्पलको सहायताले ढुंगा फुटाउन तल्लीन दुर्गा बेला बेला एकोहोरो टोलाउछिन् ।
श्रीमान गुमाएकी दुर्गा बेला बेला छोरा छोरीको भविष्यलाई सम्झेर निकै भावुक बन्छिन् । स्कुल समय भन्दा बाहिरको समयमा उनि संगै साना छोरा छोरी पनि संगै आउछन् । उनका ४ छोरी र १ छोरा छन् । श्रीमानको केहि बर्ष अगाडी नै मृत्यु भइसकेको रहेछ । दुर्गाको जेठी छोरी सिता नेपाली अहिले कक्षा ८ मा पढ्दै छिन् । ३ बर्ष विद्यालय छाडेर भारतमा बसेकी सिता अहिले गाउँ फर्किएर विद्यालय जान सुरु गरेकी हुन् । पढ्नु पर्छ भन्ने भावना जागेर गाउँ फर्किए, सिताले भनिन् । उनकी अर्की छोरी रञ्जना नेपाली अहिले कक्षा ५ मा पढ्दै छिन् । डाक्टर बन्ने सपना बोकेकी रञ्जना आमा संगै स्कुल समय बाहेक कर्णाली किनारमा गिट्टी कुट्न आउछिन् । डाक्टर बन्ने धोको छ, रञ्जनाले भनिन् । दुर्गाले कर्णाली किनारमै गिट्टी कुटेरै दुर्गाका कान्छो छोरा छत्र नेपालीलाई भने बोडिङ्गमा पढाएकी छिन् । कर्णालीका किनारका ढुंगा फुटालेर घर खर्च संगै साना छोरा छोरीलाई स्कुल पढाउदै गरेकी दुर्गाले भनिन् ‘गरिबको पिडा कसैले सुन्दैन् ।
दुर्गा सोहि ठाउँकी ७० बर्षिया मन्दरी वि.क.को दिनचर्या पनि उस्तै छ । उनको श्रीमानको मृत्यु भएको ७ बर्ष भइसक्यो । उनका छोरा पनि भारतमा मजदुरीका लागि गएको बेला भारतमै ज्यान गयो आँखा भरि आँसु पार्दै मन्दरीले भनिन् ‘मजदुरीका लागि भारत गएको छोरा फर्केर आएन् ।’ उनका छोरा ४५ बर्षका दया वि.क. भारत गएको ७ दिनमै हत्या भएको थियो । अहिले उनि बुहारी र नातीहरु संगै बस्दै आएकी छिन् । घरमा सासु बुहारी नै विदुवा भएर बसेका छौ, नाती नातिनाको भविष्यका लागि पनि दुःख गरिरहेको छु ।

साना नाती नातीको लागि पनि दुःख गर्नैपर्छ, उनले भनिन् ।उनि जस्तै ८० बर्षिया बृद्ध धनसरी वि.क.ले कर्णालीको किनारमा ढुंगाको व्यापार गर्दै जिवन गुजारा गर्न लागेको बर्षौ वितेछ । कर्णालीको किनारमा गिट्टी कुटेरै जिवीकोपार्ज गर्दै आएकी धनसरी पनि एकल महिला हुन् । एक्लो ज्यान यसरी नै पालेको छु । आँखाभरि आँसु पार्दै धनसरीले भनिन् । धनसरीको जस्तै ७० बर्षिया रंगा वि.क.को पनि पिडा उस्तै छ । धनसरीको गिट्टीको थुप्रो नजिकै रंगाको पनि ढुंगाको थुप्रो छ । केहि बर्ष अगाडी श्रीमान गुमाएकी रंगाको छोरा छोरी कोहि छैनन् ।
गाउँमा आम्नादीको अन्य स्रोत नभएका आठवीस नगरपालिका वडा नं. ४ का यि महिला र बृद्ध बृद्धाहरुको अवस्था दयनिय छ । कर्णालीको किनारमा हातमा ठेला उठाउदै ढुंगा कुटेर जिवन गुजारा गरेका यी महिलाहरुको कर्णाली किनारमा गिट्टी कुट्नु दिनचर्या जस्तै बनेको छ । उनिहरु दिनहुँ जसो कर्णाली किनारमा गिट्टी कुटेर दिन धकेली रहेका छन् । श्रीमान गुमाएका र सहारा दिने कोहि नभएपछि हातमा फोका र आँखाबाट आसु झार्दै गिट्टी कुट्नुको विकल्प अरु केहि पनि नभएकोले कर्णाली किनारमा गिट्टी कुट्दै गरेको रंगा वि.क.ले बताइन् ।
हामी गरिबको चपेटामा परेकाहरुको पिडा कसैले सुन्दैन ७० बर्षिया रंगा वि.क. ले भनिन् । आम्दानीको अरु स्रोत केहि पनि नभएपछि गिट्टी कुटेर जिवन धानेका छौ । कर्णाली किनारमा गिट्टीको व्यापार गरेर जिवन चलाएका यि महिला र बृद्ध बृद्धाहरुको स्थानीय सरकार बाट थुप्रै आश गरेका छन् । दुर्गा नेपाली भन्छिन् ‘स्थानीय सरकारले व्यवसाय संचालनको लागि केहि सहयोग गरेको भए हाम्रो जिवन चलाउने सहारा बन्थ्यो ।’

 

प्रतिक्रिया