किशोरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति र सुरक्षा प्रमुखको कामको पर्खाइ

किशोरी बलात्कार र हत्या प्रकरण : छानबिन समिति र सुरक्षा प्रमुखको कामको पर्खाइ

भाद्र ८, कञ्चनपुर — १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीको अनुसन्धानप्रति अविश्वास जनाउँदै महेन्द्रनगरमा चर्किएको आन्दोलन शुक्रबार केही कम भएको छ । बजार क्षेत्रको आन्दोलन गाँउतिर केन्द्रित भएको छ। बेलौरी, कृष्णपुर, बेलडाँडी र सुकासालमा स्थानीयले टायर बालेर यातायात अवरुद्ध पार्नुका साथै प्रदर्शन गरेका छन्।

सुरक्षा नेतृत्व फेरिएको र उच्चस्तरीय छानबिन समिति समेत गठन भएकाले महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन कम भएको छ।नयाँ आएका सुरक्षा निकाय प्रमुख र उच्च स्तरीय छानबिन समितिले अब गर्ने कामको प्रतिक्षामा स्थानीय छन्।गत मंगलबारदेखि चर्किएको आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटक पटक झडपको अवस्था सृजना भएको थियो। बिहीबार दिउँसो प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा ६ जना घाइते भएका छन्। प्रहरीतर्फ पनि ४ जना घाइते भएको प्रहरीले जनाएको छ।

उक्त घटनापछि स्थानीय प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म कर्फ्यु लगाएको थियो। कर्फ्युको समय सकिएपछि बजार क्षेत्रमा सामान्य बनेको छ। महेन्द्रनगर बजार क्षेत्र आज चौथो दिन पनि बन्द नै छ। यातायात पनि सुचारु हुन सकेको छैन।

नयाँ आएका एसपी कुबेरसिंह कठायत र डिएसपी कृष्णराज पाठक जिल्ला हाजिर भइसकेका छन् भने प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी बाटोमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अवस्था सामान्यीकरण भएकाले अब सबै पक्षसँग समन्वय भइरहेको बताए।

प्रतिक्रिया