कर्णालीका ५४ प्रतिशत बालबालिका पुड्का

कर्णालीका ५४ प्रतिशत बालबालिका पुड्का

सुर्खेतः पर्याप्त स्तनपान र सन्तुलित खाना नपाउँदा कर्णालीका आधाभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका छन्। पोषणयुक्त खानपानको कमीका कारण कर्णाली प्रदेशका बालबालिका शारीरिक तथा मानसिक रुपमासमेत कमजोर बन्दै गएका हुन्। कुपोषणका कारण यहाँका ५४ प्रतिशत बालबालिका उमेर अनुसार पुड्का भेटिएका छन्।

देशभर हाल ३६ प्रतिशत बालबालिका कुपोषणका कारण पुड्का छन्। तर मानव विकास सूचाकंमा सबैभन्दा पछाडी रहेको कर्णालीका बालबालिकामा भने यो समस्या अत्याधिक देखिएको हो । नियमित स्तनपानको कमी, पोषणयुक्त खानाको अभाव र गर्भवती तथा सुत्केरीपछिको अवस्थामा शिशु तथा आमाको स्याहारमा हुने लापरबाहीले बालबालिकामा कुपोषणको गम्भिर समस्या देखिएको हो ।

यही समस्याका कारण कर्णाली प्रदेशका बालबालिकामा रक्तअल्पता, ख्याउटे र पुड्कोपनाको समस्या बढ्दै गएको छ। सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याकंमा कर्णालीका ५४ दशमलव पाँच प्रतिशत बालबालिका कुपोषणका कारण पुड्का छन् । पोषिलो खानाको अभावमा यो प्रदेशका आधाभन्दा बढी बालबालिका पुड्का रहेको र उमेर अनुसार युवा अवस्थामा पनि उनीहरु पुड्का नै रहेको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख बृषबहादुर शाहीले जनाए । उनका अनुसार कुपोषणकै कारण यो प्रदेशका सात प्रतिशत बालबालिका ख्याउटे छन् । उमेर अनुसार उनीहरुमा शरीरको विकास हुन सकेको छैन ।

जन्मेको एक घण्टाभित्र शिशुले आमाको दुध खान नपाउनु, जन्मेको ६ महिनासम्म आमाको दुधमात्र नखुवाउनु, शिशुलाई दुई वर्षसम्म निरन्तर आमाको दुध नखुवाउनु, पाउडर दुध खवाउनु र उमेर अनुसार आमा र बच्चाले पोषिलो खाना नखाँदा बालबालिका कुपोषणको जालोमा बेरिएका हुन् ।

बालबालिकालाई कुपोषणबाट जोगाउन सार्वोत्तम पिठो बाँड्दै सुर्खेतको चौकुने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष। तस्बिर स् अन्नपूर्ण

त्यसैगरी कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा रहेको गरिबी र भोकमरीका कारण पनि बालबालिकामा कुपोषणको समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सुचना अधिकारी बसन्तमान श्रेष्ठ भन्छन्,ुकर्णालीमा कुपोषणको समस्या अत्याधिक छ, बालबालिकाले पोषणयुक्त खाना नपाउँदा यो समस्या बढेको हो । जनचेतनाको कमी र आर्थिक अभावले यो समस्या जटिल बन्दै गएको छ, यसले बालबालिकाको वृद्धि र विकासमासमेत अवरोध गरेको छ ।ु

सूचना अधिकारी श्रेष्ठका अनुसार कुपोषणका कारण कर्णालीका जम्मा बालबालिकामध्ये ३५ प्रतिशत बालबालिका कम तौलका छन् । उनीहरुको उमेर अनुसार शरीरको तौल वृद्धि हुन नसकेको हो । यस्तै यहाँका ३४ प्रतिशत बालबालिकामा पोषणयुक्त भोजनको अभावमा रक्तअल्पताको समस्या देखिएको छ।

बालबालिकाको ९० प्रतिशत मस्तिष्कको विकास जन्मेको दुई वर्षभित्रमा हुने भएकाले यही अवधीमा पोषणयुक्त खाना र स्तनपानमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । तर कर्णालीका अधिकांश बालकालिकाले यो अवधीमा आमाको स्तनपान र पोषिलो खाना नपाउने गरेको अध्ययनले देखाएको हो ।

बच्चा गर्भमा रहेदेखि दुईवर्ष पुग्ने बेलासम्म पोषणको अभाव हुन नदिन यो अवधीलाई सुनौला हजार दिनु का रुपमा लिएर सुर्खेतसहित केही जिल्ला विषेश अभियान पनि संचालन भइरहेको छ । गर्भमा रहेदेखि जन्मेको दुई वर्षसम्म बच्चालाई विषेश पोषणयुक्त खाना आवश्यक पर्दछ, यही अवधिमा पोषिलो खानाको अभाव हुँदा कुपोषणको संक्रमण बढी हुन्छु कुपोषणको विरुद्धमा काम गर्र्दै आएको सुआहारा कार्यक्रम सुर्खेतका संयोजक राजेन्द्र अधिकारीले भने।

उनका अनुसार कर्णालीमा कुपोषण घटाउन निकै चुनौती बनेको छ । उनले कामको व्यस्तता, सामाजिक मान्यता र चेतनाको अभावले गर्दा अधिकांश बालबालिकाले आमाको दुध आवश्यकता अनुसार खान नपाउँदा कुपोषणको जालोमा बेरिएको बताए । डाक्टर महेशकेशर खनाल गर्भ, सुत्केरी र दुई वर्षसम्मको अवधिमा बालबालिकाको स्तनपानमा विषेश ध्यान दिनुपर्ने बताउँछन् । स्तनपानमा ध्यान नदिएकै कारण बालबालिकामा कुपोषणको समस्या देखिने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया