निर्मला हत्या प्रकरणमा नयाँ मोड : छानबिन समिति सदस्यकै राजीनामा

निर्मला हत्या प्रकरणमा नयाँ मोड : छानबिन समिति सदस्यकै राजीनामा

काठमाडौँ : कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय सरकारी समितिकै सदस्यले राजीनामा दिएका छन् । सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले छानबिन समितिबाट निर्मलालाई न्याय मिल्न नसक्ने जनाउँदै राजीनामा गरेका हुन् ।

उच्चस्तरिय छानबिन समितिको अनुसन्धानमाथि असन्तुष्टि जनाएका केसीले सोमबार लिखितरुपमा राजीनामा दिँदै आफू त्यस समितिमा नरहेको घोषणा गरेका हुन् । समितिबाट राजीनामा दिने क्रममा उनले सरकारी छानबिन समितिबाट निर्मलाले न्याय पाउनेमा आफु विश्वस्त नरहेको पनि जनाएका छन् ।

केसीले निर्मलालाई न्यायका लागि दबाब दिन आफूले समितिबाट राजीनामा दिएको पत्ररकार सम्मेलनमा बताए । केसीले राजीनामा पत्र हुलाकबाट सरकारलाई पठाएर समितिमा नरहेको जानकारी गराइएसकेको पनि पत्रकारहरुलाई बताए ।सरकारले निर्मला हत्या प्रकरणको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा एउटा उच्चस्तरीय समिति बनाएको थियो ।

त्यस समितिले १५ दिनसम्म कञ्चनपुर बसेर अनुसन्धान गर्दा हत्याराको कुनै सुराक नै नभेटी काठमाडौँ फर्किएको थियो। समिति संयोजक मैनालीले निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले गम्भीर लापरबाही गरेको मात्रै बताएका थिए ।

प्रतिक्रिया