बजार अनुगमन गरिदिन आग्रह

बजार अनुगमन गरिदिन आग्रह

दैलेख, असोज १४
डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ बेलपाटा र वडा नं. ६ डुङ्गेश्वरबजारमा गठित मानवअधिकार निगरानी समूहले उपभोक्ता अधिकार र सार्वजनिक हितको सरोकारमा निगमन निकायले चासो दिनुपर्ने भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
आसन्न बडादशैंको बेला दैनिक उपभोग्य बस्तुहरुको अनियन्त्रित मूल्यबृद्धि, खाद्य बस्तुमा मिसावट, कमजोर गुणस्तर र म्याद नाघेका खाद्य तथा पेय पदार्थ बजारमा बिक्री भइरहेको भन्दै यसको नियमन गर्न आइतवार दैलेखका प्रमुख जिल्ला अधिकारीसंग भेटी लिखित आग्रह गरेको छ ।
मानवअधिकार निगरानी समूह बेलपाटाका संयोजक पार्वती खत्री, डुङ्गेश्वरका संयोजक पिपला शाही, डुङ्गेश्वर गाउँपालिकाको वडा नं. १ का वडासदस्य कमला केसी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै भेटेर पत्र बुझाएका हुन् ।
पत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले स्थानीय तह, उपभोक्ता अधिकार मञ्च, दैलेख बाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला निकायको समन्वयमा छिट्टै बजार अनुगमन गर्ने प्रतिवद्धता जनाए ।
रोजगारीका सिलसिलामा भारतबाट फर्किने नेपालीहरु नेपाल भित्रिने नाकाहरुमा भारतीय र नेपाली सुरक्षाकर्मीहरुबाट घुस मागेर आजित पारिने भएकाले ती सम्वन्धित निकायसंग समन्वय गरी त्यसरी ठगिनबाट जोगाई समेत निगरानी समूहले जिल्ला प्रशासन कार्यालयसंग आग्रह गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले सञ्चालन गरेको ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी कार्यक्रम’ उक्त मानवअधिकार निगरानी समूहहरु शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका क्षेत्रमा क्रियाशील छन् ।

प्रतिक्रिया