दैलेखमा कृषि मेला हुने

दैलेखमा कृषि मेला हुने

क्याप्सन – दैलेखको नौमूले गाउँपालिकामा संचालित जीवन ज्योती नेपाली हाते कागज उद्योगमा काम गर्दै स्थानीय तिखे रोकाय । उक्त नेपाली हाते कागज उद्योग समूह मार्फत संचालन भइरहेको छ । उद्योगमा स्थानीय बलिराम थापा र तिखे रोकायले काम गर्दै आएका छन् ।हिक्मत नेपाली
दैलेख असोज १५ ।

जिल्लाका ११ वटै स्थानीय तहमा कृषि तथा लद्यु उद्यम व्यवसायमा संलग्न कृषकहरुको व्यवसाय प्रति हौसला बढाउन लघु घरेलु कृषि उद्यम प्रदर्शनी तथा हाट बजार व्यापार मेलाको आयोजना गरिएको छ । ‘बेरोजगार लागि लगनशिलता, गरिबी न्यूनीकरणका लागि उद्यमशिलता’ भन्ने मूल नाराका साथ मेलाको आयोजना गरिएको हो । धार्मिक, पुरातात्वीक, ऐतिहासिक, प्राकृतिक सम्पदाको दृष्टिले परिचित दैलेखलाई आत्मनिर्भर, समृद्ध, स्वरोजगार युक्त बनाई परनिर्भरता घटाउने उदेश्य सहित मेलाको आयोजना गरिएको हो ।

यहाँको नारायण नगरपालिका र जिल्ला लघु उद्यमी समूह संघ द्धारा सयुक्त रुपमा आयोजित मेला यहि असोज १९ देखी २३ गते सम्म सदरमुकामको टुडिखेलमा संचालन हुनेछ । राज्य पुर्नसंरचना पछि दैलेखमा आयोजित यो पहिलो मेला हो । मेलामा जिल्लाका ११ वटै स्थानीय तहका कृषक, उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको खरिद बिक्री गरिने जिल्ला लघु उद्यमी समूह संघका अध्यक्ष कविराज खत्रीले जानकारी दिनुभयो ।
त्यसका साथै दशैंको अवसरमा आम उपभोक्ताहरुले सुलभ दरमा दैनिक उपभोग्य वस्तु खरिद गर्न पाउनेछन् । मेलामा जिल्लाका ११ वटै स्थानीय तहका स्टलहरु राखी हरेक स्थानीय तहका घरेलु उद्यमीहरुले कुन कुन वस्तुहरु उत्पादन गरिरहेका छन्, बजार अवस्था कस्तो छ, कति परिमाणमा उत्पादन भइरहेको छ, कृषकहरुलाई व्यवसायिक बनाउन कसको भूमीका के भन्ने विषयमा जानकारी लिन र दिनका लागि मेलाको आयोजना गरिएको हो ।
मेलामा यहाँको दुल्लु नगरपालिकाको खागितडा स्थित होम स्टेले पनि सेवा दिनेछ । मेला अवधीभर जिल्लामा रहेका कला संस्कृतिहरु प्रर्दशन गरिने आयोजकले जनाएको छ । मेलामा सहभागि कृषकहरुलाई आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ । मेला अवधीभर झण्डै ४० हजार दर्शकले मेला अवलोकन गर्नुका साथै सबै स्टलहरुबाट १ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।
जिल्लाभर २९ सय बढी लद्यु उद्यमी
दैलेख जिल्लाको पछिल्लो तथ्यांक अनुसार जिल्लाभर २९ सय लघु उद्यमीहरु सृजना भएका छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढि महिला लघु उद्यमीहरुले उद्यमहरु संचालन गर्दै आएको जिल्ला लघु उद्यमी समूह संघका अध्यक्ष कविराज खत्रीले जानकारी दिनुभयो ।
यहाँका लद्यु घरेलु उद्यमीहरुले मसला उद्योग, दालमोठ उद्योग, अगरवत्ती उद्योग, दुना टपरी उद्योग, मुढा उद्योग, ढाकाको कपडा उद्योग, हाते कागज उद्योग संचालन गरिरहेका छन् । यस्तै सिस्नो प्रशोधन उद्योग, सिलाई कटाई उद्योग, आरन उद्योग, हाते होजियारी उद्योग, ममवत्ती उद्योग, वाँस निगालो उद्योगबाट विभिन्न सामाग्री उत्पादन भइरहेको छ । यहाँ प्रशोधित सिस्नो सुर्खेत, नेपालगंज, काठमाण्डौ हुँदै नेपाल बाहिर समेत विक्री हुने गरेको छ ।

प्रतिक्रिया