कान्छो जिल्लाको आकर्षक गन्तव्यः भूमे

कान्छो जिल्लाको आकर्षक गन्तव्यः भूमे

रुकुम – नयाँ संरचनाअनुसार नेपालकै कान्छो जिल्ला रुकुम पूर्वमा पर्ने भूमे गाउँपालिकाका पर्यटकीय गन्तव्य तथा ऐतिहासिक स्थलहरू धेरैको संख्यामा छन् । ३ गाउँपालिका रहेको यस जिल्लामा भूमे गाउँपालिका पनि एक हो । यस पालिकामा मगर, नेवार, गुरुङ, दलित, क्षेत्री समुदायको बसोबास रहेको छ । हिउँदमा अधिकांश ठाउँमा हिउँ पर्ने उक्त क्षेत्रमा रमनीय बुकी (लेक) ठाउँ, मिलेर बनेका रमाइला गाउँ, आ–आफ्नो समुदायको लयमा भाषाबोली चाली रहेको छ । रुकुम रोल्पा माओबादीको जनयुद्धका उद्गम स्थल भएकाले गुरिल्ला पदमार्ग तथा लोकतान्त्रिक गणतन्त्रको कार्यदिशाको महत्वपूर्ण बैठक, विभिन्न खालका जडिबुटी, खानी, पशुपन्छी तथा रमनीय ठाउँ र ऐतिहासिक बोकेका पर्यटकीय स्थलहरू अथाह छन् ।
प्राकृतिक स्थलहरू : मारिङ वडा नम्बर २ र ७ मा पर्दछ जहाँ पालिकाले अहिले कृषि अनुसुधान केन्द्रको क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष रामसुर बुढाका अनुसार त्यस ठाउँमा कृषि उर्वराशक्ति माटो रहेको अनुसन्धानले देखाएको छ । त्यति मात्र नभएर त्यस ठाउँ आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ, त्यस ठाउँबाट विभिन्न रमनीय ठाउँहरू पनि देख्न सकिन्छ । सिस्ने हिमाल, पश्चिम धवलागिरी, रोल्पाको थबाङ गाउँ र प्रख्यात धार्मिक स्थल जलजला जस्ता मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ । चौरी छैबाङ त्यस ठाउँमा हिउँदभर हिउँ परिरहन्छ, त्यसैगरि तिलाचन दह भूमेकै उच्च स्थानमा रहेको दह, तीन बहिनी लेक वडा नम्बर १ मा रहेका छन् । जोङ्ला पानी गुफा (गाबाङ) त्यस भित्र बर्षायाममा पानी जम्मा हुने गर्दछ । १ सय मिटर अग्लो काल्छे झरना वडा नम्बर २ मा रहेका छन्, । त्यस्तै गरि तामाको खानी झुम्लाबाङ र काँडा, पञ्चासे पानी, घर छवाउने ढुङ्गाको खानी खाबाङ र कुचिबाङ गाउँमा छ, सम्धी गुफा जस्ता थुप्रै प्रख्यात प्राकृतिक स्थलहरू रहेका छन् ।

धार्मिक तथा साँस्कृतिक स्थलहरू : धार्मिक तथा साँस्कृतिक स्थलहरू थुप्रै रहेका छन् । मुख्यात मगरको भूमे पूजा आराधना गरि धुमधामका साथै भूमे पर्व मनाउने गर्दछन् । असार १ गते देखि एक साता सम्म मनाउने प्रचलन रहेको छ । खास गरि भूमिलाई पूज्दछन् हिउँदे बाली भित्र्याएको खुशीयाली र बर्खे बालीलाई हानी नपु-योस् । साथै बाढी पहिरो नआओस भनेर भूमे थानमा बलि चढाउछन् र आआफ्नो गाउँमा जम्मा भै भूमे नाच दुई घेरा जसमध्यमा पहिलो घेरामा महिलाको हुन्छ, भने दोस्रो घेरामा पुरुष भै आआफ्नो समूहमा नाँच्ने गर्दछन् । स्थानीय झाँक्री नाँच लुकुममा साउनको ३ गते र काँक्रीमा बैसाख पूर्णिमाको अवसर पारि सबै झाँक्रीहरू जम्मा भै पूजा आरधानाका साथ झाँक्री नाच प्रर्दशनी गर्दछन् । आफ्नो पुर्खाहरूको सम्झनामा आआफ्नो सन्तान जम्मा भएर बिसौनामा प्रत्येक बर्षको मंसिर पुर्णिमा को अवसरमा पूजा गर्ने प्रचलन रहेको छ । सरयु फुल टिप्ने लेक भूमे पुजाका अवसरमा फूल टिप्न जाँदा पूजा पात गर्दछन् । सिद्ध थान मन्दिर, नचारु, डिग्रे, फाँक, आदि स्थानीय नाच आफ्नै मौलीक कला बोकेको सँस्कृतिकहरू रहेका छन् ।
ऐतिहासिक स्थलहरू : भूमे गाउँपालिका आफ्नो पृथक सँस्कृतिक, भेषभाषा, प्राकृतिक सम्पदाको पहिचान बोकेको सुन्दर र यसै ठाउँबाट माओबादीको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशाले तय गरेको ऐतिहासिक गाउँपालिका रहेको छ । भेरीडाँडा चुनबाङ जहाँ तत्कालीन नेकपा (माओबादी) ले सशस्त्र युद्धबाट लोकतान्त्रिक जनगणतन्त्रमा जान केन्द्रिय समितिद्धारा कार्यनीति पारित गरेको स्थान रहेको छ । मैना सन्धि गुफा त्यसमा ढुङ्गाका आकर्षक आकृति, महत्तको चौकी आक्रमणमा डिएसपी ठूले राइलार्ई कब्जास्थल अहिले पालिकाले उक्त आक्रमण स्थलमा स्मरणका लागि युद्ध स्मारिका र शान्तिको प्रतिक बुद्धको स्मारक पार्कको रुपमा विकास गरिएको छ । लुकुम र क्याङ्सीमा जनमुक्ति सेनाको तालिमको केन्द्र्र स्थल, क्याङ्सीमा २०६२ सालमा सहिद बाशुको नामाकरणबाट जनबादी विद्यालय सञ्चालनमा थियो भने २०६६ सालमा सरकारीमा गाभिएको छ । झुम्लाबाङमा भुरेटाकुरे राजाको राजदरबार रहेको र तामाबाट मुद्रा काट्ने (तक्सार) बसेको ऐतिहासिक स्थल पर्दछ । काँक्रिमा माओबादी जनयुद्धकी पहिलो महिला सहिद धनमाया रोका श्रेष्ठको स्मति पार्क, आदिबासी जनजाती संग्रहालय स्थापना गरिएकोमा पूराना पूराना सामाग्रीहरू जीवनशैलीमा झल्काउने खालका बस्तुहरू संग्रहालयमा सजाइएको पाइन्छ अथा परापूर्वकाल देखिका ऐतिहासिक रमनीय स्थलहरू रहेका छ ।
पर्यटकीय क्षेत्रको लागि गाउँपालिकाको पहल : भूमे गाउँपालिकालाई सफा, सुन्दर, हरियाली र समृद्ध बनाउन भूमे गाउँपालिकाबासी जनसमुदायसँग हातेमालो गर्दै स्थानीय सरकार अगाडि बढिरहेको अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘आफ्नै मौलिक कला, संस्कृति र जीवनशैली रहेको भूमे गाउँपालिका पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना बोकेको ठाउँ रहेकोले पालिकाको तर्फबाट विभिन्न खालका पर्यटकीय स्थलको लागि अध्ययन र अनुसन्धानको माध्यमबाट आवश्यक निती कार्यक्रम बजेटको व्यवस्था गरि काम गरि राखेको छ’ बुढाले भने । सफा, सुन्दर र हरियाली पालिकाको कार्यक्रम अपनाई अहिले वातावरयीय हरियो रङले प्रत्येक घरदुरी लिपपोतका साथ हरियाली भूमे कार्य भैरहेको छ । धनमाया स्मृति पार्क, शान्तिको प्रतिक बुद्धको सालिक, युद्ध स्मारक पार्क त्यसै गरि विभिन्न संग्रहालय तथा संस्कृतिक भूमे महत्सवसँगै विविध सँस्कृतिक नाँच र विविध मनोरञ्जन तथा खेलकूदको लागि पनि २०७४ भूमे कप जस्ता काम सम्पन्न गरिएको छ । पर्यटकीयलाई शिष्टाचार व्यवहार तथा व्यवस्थीत बसोवास सहितको सुविधा दिनको लागि भूमेको आर्थिक सहयोगमा रुकुम पूर्वका तीन वटै गाउँपालिकालाई सहभागि गराई होमस्टे सञ्चालनको लागि तालिमको आयोजना गरिएको छ । अझै पनि थप स्तरबृद्धि गरेर आकर्षक बनाउन गाउँपालिका लागिरहेको छ । पर्यटकीय सम्भावना उजागर गरेर पर्यटन क्षेत्रबाट प्रशस्त लाभ लिने उद्देश्यले गत भदौ काठमाण्डौँमा तीन वृत्तचित्र सहित भूमे चिनारी नामक एक पुस्तक प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सार्वजनिक गरेका छन् । यस पुस्तकहरू मार्फत भूमेको पर्यटकीय स्थलको लागि प्रचारको माध्यम बन्ने र भूमेको लाभ हुने अध्यक्ष बुढाले जानकारी दिए । कारोबार दैनिक बाट

प्रतिक्रिया