निर्मला पन्त प्रकरण : एसपी बिष्ट र इन्स्पेक्टर भट्टले दोस्रो स्पष्टीकरण बुझाए

निर्मला पन्त प्रकरण : एसपी बिष्ट र इन्स्पेक्टर भट्टले दोस्रो स्पष्टीकरण बुझाए

काठमाडौँ, ८ कार्तिक । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रभावशाली कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक ९एसपी० डिल्लीराज विष्ट र तत्कालीन प्रहरी निरीक्षक जगदीश भट्टले दोस्रो स्पष्टीकरण बुझाएका छन् ।

उनीहरूले हेड्क्वाटर मार्फत गृहमन्त्रालयमा दोस्रो स्पष्टीकरण बुझाएका हुन् । प्रहरी निरीक्षक भट्टले पहिलो स्पष्टीकरण मंगलबार बुझाएका थिए भने एसपी डिल्लीराज विष्टले बुधबार बुझाएका थिए । १३ वर्षीया बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै बर्खास्त गर्नुअघि आफ्नो कुरा राख्न पाउने प्राकृतिक न्यायको सिद्धान्तअनुसार एसपी विष्ट र घटनाको प्रमाण नष्ट गरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रहरी निरीक्षक भट्टलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते उनीहरूलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए । गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।

अहिलेसम्म घटनामा संलग्न अपराधी पत्ता लाग्न सकेको छैन । प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै व्यापक आलोचना भइरहेको छ ।

प्रतिक्रिया