समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु

समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु

दैलेख कात्तिक ११
दैलेख जिल्लामा आपराधिक गतिविधी न्यूनिकरण गरि समाजमा शान्ति सुरक्षा कायम गर्न नयाँ रणनीति अपनाइएको छ । सामाजिक विकृति र विसंगती विरुद्ध जनचेतनता फैलाउने तथा समग्र सामुदायिक सुरक्षालाई प्रहरी र स्थानीय तह विचको साझेदारीमा न्यूनिकरण गर्ने उदेश्यले ‘कम्युनिटी पुलिस पार्टनरसिप’ (सिपीपी) मोडेल अर्थात समुदाय प्रहरी साझेदारी कार्यक्रम अपनाइएको हो । सुरक्षा र विकास अन्तरसम्बन्धित भएकाले सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरुप स्थानीय तह र प्रहरीको सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र शान्ति सुरक्षालाई एकिकृत रुपमा अगाडी बढाउने उदेश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरिएको हो ।

उक्त कार्यक्रम कार्यान्वयनका लागि नेपाल प्रहरी र स्थानीय तहबीच सहकार्य गर्ने सहमति भएको छ । जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिका गरि ११ वटा स्थानीय तह र जिल्ला प्रहरी कार्यालय दैलेख विच समहति भएको हो । आइतवार दैलेखमा आयोजित एक कार्यक्रममा उक्त सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । साझेदारी पत्रमा काम कतव्र्य र जिम्मेवारी बाँडफाँड गरिएको छ । जस अनुसार स्थानीय तहले सामाजिक न्याय, सुरक्षा, मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतनाको दायित्व सम्हाल्नुपर्नेछ । जिल्लामा हुने अपराध नियन्त्रण र रोकथाम गर्ने दायित्व नेपाल प्रहरीको हुनेछ ।
सामुदायिक सुरक्षा अभिबृद्धि गर्नका लागि स्थानीय स्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकायहरु, विद्यमान सामुदायिक प्रहरी सेवा केन्द्र, गैह्र राजनीतिक, सामाजिक संघसंस्था र विद्यालयको सहभागिता रहनेछ । समुदाय प्रहरी साझेदारी अन्तरगर्त तल्ला तहमा आवश्यक संयन्त्र खडा गरिनेछ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार जिल्ला तहमा एक समिति गठन गरिनेछ ।

उहाँले गाउँपालिका/नगरपालिका, वडा, समुदाय, टोल र विद्यालयमा पनि समितिहरु खडा गरिने बताउनुभयो । सो समितिहरुले अपराध विरुद्धको अभियान संचालन गर्नेछन् । समुदाय प्रहरी साझेदारी समितिहरुको माध्ययमबाट स्थानीय सुरक्षा चुनौती, सामाजिक विकृति विसंगती र अपराध उन्मुख समस्याको पहिचान गरि चेतनामुलक कार्यक्रमहरु संचालन गरिने प्रहरी नायव उपरिक्षक पोखरेलको भनाई छ ।

स्थानीय स्तरमा शान्ति सुरक्षाको अवस्था मजबुद गराउन आधारभुत सुरक्षा, सुरक्षा उपकरणको स्थापना र विस्तार, महिला, बालबालिका र जेष्ठ नागरिक विरुद्धका अपराध तथा हिंसा न्यूनिकरणलाई प्राथमिकतामा राखिनेछ । यसका साथै छाउपडी प्रर्था, बोक्सी प्रर्था, बाल विवाह, दाइजो लगाएतका सामाजिक विकृती, मानव बेचबिखन नियन्त्रण जस्ता सामाजिक कुसंस्कार र कुरिति अन्त्य गर्ने कार्यक्रमहरु संचालन हुनेछ । स्वास्थ्य र प्रशासनिकको क्षेत्रमा एकिकृत घुम्ती शिविर, सडक सुरक्षा, विपद् व्यवस्थापन, साइवर सुरक्षाका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको छ । समुदाय प्रहरी कार्यक्रमले घरदैलो कार्यक्रम, प्रशिक्षण, सामुदायिक गस्ती, अन्तरक्रिया, सामुदायिक बैठक, खेलकुद लगाएतका गतिवीधिहरु संचालन गर्नेछन् । बालबालिकाहरु अपराधको उच्च जोखिममा रहेको हुँदा उनिहरुलाई अपराध उन्मुख हुनबाट जोगाउन तथा पिडीत हुनबाट जोगाउन सामुदायिक सुरक्षाका विषयमा प्रशिक्षण दिइनेछ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत दिगो र दिर्घकालिन साझेदारी संयन्त्र निर्माण गर्ने अपेक्षा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोखरेलले बताउनुभयो । समुदाय प्रहरी साझेदारी पत्रमा हस्ताक्षर गर्नुहुँदै नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था विद्यालय विच सुमधुर सम्बन्ध कायम भई समाजमा शान्ति सुरक्षाको प्रत्याभुत गराउन सहज हुने धारणा राख्नुभयो ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले जिल्लामा धेरैजसो बालबालिकाहरु अपराधको जोखिममा रहेको भन्दै समुदाय प्रहरी साझेदारी कार्यक्रमले महिला र बालबालिकालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सबैको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले अपराध हुन नदिन यो कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले यो कार्यक्रम विशेष गरि समुदाय र विद्यालय केन्द्रित हुने जानकारी दिनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमको आइतवार जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले औपचारिक उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया