कर्णाली–रारा भ्रमण वर्ष उद्घाटनमै ७८ लाख स्वाहा

कर्णाली–रारा भ्रमण वर्ष उद्घाटनमै ७८ लाख स्वाहा

सुर्खेत – कर्णाली प्रदेश सरकारले वैशाख १ गते उद्घाटन गरेको कर्णाली भ्रमण वर्षको उद्घाटनमा ७८ लाख रुपैयाँ खर्चिएको छ। केन्द्र सरकारले अनुदान दिएको बजेट प्रदेश सरकारले खर्चिएको हो। मुगुको रारा ताल परिषरमा पर्यटन वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। कर्णालीमा पाँच लाख पर्यटक भित्र्याउन लक्ष्य लिएको सरकारले विषयगत मन्त्रालयमार्फत उक्त बजेट खर्चिएको विवरण लेखा समितिमा बुझाएको छ।

समितिमा उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री नन्दसिंह बुढाले पेश गरेको खर्च विवरण अनुसार भ्रमण वर्ष उद्घाटनमा ७८ लाख १६ हजार रुपैयाँ खर्च भएको छ।

कार्यक्रमको आवश्यक व्यवस्थापनका लागि विषयगत मन्त्रालयलाई जिम्मेवारी दिइएको थियो। कार्यक्रम उद्घाटनस्थलसम्म अतिथिहरु पुर्याउनका लागि भौतिकमन्त्रीको अध्यक्षतामा समिति बनेको थियो। उक्त समितिले १० लाख रुपैयाँ खर्च गरेको छ। हवाई यातायातमा नौ लाख र गाडी बुकिङमा एक लाख रुपैयाँ खर्च भएको छ।

यस्तै, सामाजिक विकास मन्त्रालयले १० लाख ११ हजार रुपैयाँ खर्च गरेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २८ लाख ८५ हजार रुपैयाँ खर्चिएको छ। मन्त्री बिमला केसीको संयोजकत्वमा गठित समितिले अतिथिहरुका लागि आवास र खाना खर्च व्यवस्थापनमा उक्त बजेट खर्चिएको हो।

कार्यक्रमको उद्घाटनमा मुगु जिल्ला समन्वयन समितिलाई ७ लाख रुपैयाँ खर्च गरेको छ। कानून मन्त्रालयले ४ लाख ६२ हजार र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले १६ लाख ५८ हजार रुपैयाँ खर्चिएको विवरण मन्त्री बुढाले लेखा समितिमा विवरण पेश गरेका छन्।

विषयगत समितिबाट आएको खर्च विवरण र वीलका आधारमा मन्त्रालयको खातामा पैसा निकासा भइसकेको उनले बताए। यसअघि प्रदेश सरकारले संसदमा भ्रमण वर्ष उद्घाटनको खर्च विवरण ६६ लाख रुपैयाँ पेश गरेको थियो। तर, सरकारले सदनमा गलत विवरण पेश गरेको प्रमाणित भएको छ। सरकारको तर्फबाट मन्त्री बुढाले समितिमा भ्रमण वर्षको उद्घाटमा यथार्थ खर्च विवरण बुधबार पेश गरेका छन्।

उनले गत आर्थिक वर्षमा पनि विकास बजेट खर्चिन नसकेको बताए। चालू आर्थिक वर्षमा मन्त्रालयले एक करोड एक लाख ७२ हजार बराबरको विकास योजना निर्माण गरेको बताए। तर कार्यान्वयनमा निकै चुनौती देखिएको जानकारी दिए। उनले मन्त्रालयबाट तत्कालै सार्वजनिक खरीद ऐन निर्माण गरी बजेट कार्यान्वयनको प्रक्रियामा जाने बताए। प्रदेश सरकारको बजेट दुरुपयोग रोक्न र विकास निर्माणमा सदुपयोग गर्न समितिले खबरदारी गर्ने अध्यक्ष दिनबन्धु श्रेष्ठले बताए।

प्रतिक्रिया