लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

–ज्वाला संदेश–
दैलेख मंसिर ९ ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आइतवारदेखि सुरु भएको छ । लैंगिकतामा आधारिक हिंसा विरुद्धमा विश्वभर मनाइने १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म (१६ दिन) मनाइने गरिन्छ । अभियानको अवसरमा आजदेखि १६ दिनसम्म विश्वभर विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ । यसवर्ष विश्वभर ‘अरेन्ज द वल्र्ड : हिअर मि टु’ भन्ने नाराका साथ १६ दिने अभियान मनाईंदै छ । नेपालमा भने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ‘लैंगिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ अभियान मनाईंदैछ । अभियानका अवसरमा जिल्ला समन्वय समिति दैलेख र नारायण नगरपालिका (महिला तथा बालबालिका शाखा) को आयोजना तथा विभिन्न सरकारी तथा गैससको सहआयोजनामा आइतबार बृहत प्रभातफेरीको आयोजना गरिएको छ ।
आइतवार विहान ८ बजे स्थानीय गणेश चोकमा भेला भएर प्लेकार्ड सहित सुरु भएको प्रभातफेरी बजार परिक्रमा संगै स्थानीय देवकोटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रभातफेरी पछि भएको कोण सभामा बोल्नुहुँदै प्रतिनीधि सभाका सांसद पार्वती विशुन्के लैंगिक हिंसा र दुव्र्यवहार न्यूनिकरण गर्न सबै सजग हुनुपर्ने बताउनुभयो । थुुप्रै आन्दोलन र बलिदानीबाट प्राप्त अधिकारको रक्षा गर्दै राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता अहिलेको आवश्यता रहेको उहाँको भनाई छ ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
१६ दिने अभियानको उद्घाटनका अबसरमा लैङ्गिक हिंसा मुक्त समाजका लागि हाम्रो प्रतिबद्धता भन्दै कार्यक्रममा सहभागिले हस्ताक्षर समेत गरेका छन् । अभियानभर सोसेक दैलेख, महिला शसक्तिकरण मञ्च, एभरेष्ट क्लब, दलित महिला संघ,समुदायमा आधारित संस्था महासंघ,सेतो गुराँस बाल विकास सेवा, लायन्स क्लब, सेवक, इन्सेक, बालिका बचाउ अभियान दैलेखको अगुवाईमा दैलेख सदरमुकाममा यौन दुव्र्यवहार सम्बन्धि अन्तरक्रिया, लैंगिक हिंसा विरुद्धको स्टिकर वितरण लगाएतका अभियानहरु संचालन गर्नेछन् ।
के हो १६ दिने अभियान ?
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन् १९९१ देखि सुरु भएको हो । यसको मुख्य उद्देश्य लैंगिकतामा आधारित सबैखाले हिंसा र अपराधलाई अन्त्य गरी महिला र पुरुषबीचको असमानता हटाउनु हो । यो अभियानको सुरुआतमा विभिन्न २० देशका २३ उत्साहित महिलाको सहभागिता थियो । हाल यो अभियान विश्वभर मनाईने गरिन्छ । यो अभियानको थालनीको एक कारण १९६० नेभोम्बर २५ तारिकका दिन डेमिनिक रिपब्लिक तानशाहले आफ्नो सरकार विरुद्ध आन्दोलन गर्ने एकै परिवारका ३ दिदीबहिनीलाई गरेको हत्यालाई पनि लिइने गरिन्छ । ती तीन दिदीबहिनीको साहसलाई सम्मान गर्दै ल्याटिन अमेरिकी देशहरुबाट नोभेम्बर २५ कै दिनलाई अभियानको रुपमा मनाउन थालिएको हो । भने संयुक्त राष्ट्रसंघको साधारण सभाले १७ डिसेम्बर १९९९ मा मात्रै यस दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवसको औपचारिक मान्यता दिएको थियो ।

११ वटै स्थानीय तहमा अभियान


दैलेखको महावु गाउँपालिकामा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आइतवारदेखि सुरु भएको छ । महावु गाउँपालिकाका,सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख लगाएतका सरकारी तगा गैरसरकारी निकायहरुको आयोजनामा ¥याली निकालिएको थियो । ¥याली संगै कोण सभा समेत गरिएको त्यहाँबाट हाम्रा संवाददाताले जानकारी दिएका छन् । महावु संगै दैलेखका ११ वटै स्थानीय तहमा अभियान सुरु भएको छ । अभियानको अवधीभर सबै स्थानीय तहमा चेतनामुलक कार्यक्रमहरु आयोजना हुने बताइएको छ ।

प्रतिक्रिया