आमाबुवाको मृत्युपछि ७ बालबालिकाको विचल्ली

आमाबुवाको मृत्युपछि ७ बालबालिकाको विचल्ली

सरिता चलाउने, सल्यान ।
अल्पायुमा नै आमाबुवा गुमाएपछि ७ बालबालिकाको विचल्ली भएको छ । सल्यानको कालिमाटी गाउँपालिका २ किचेनखोलाका शसिक विक र शसिकला विकको मृत्यु भएपछि सात बालबालिकाको विचल्ली भएको हो । जब आमाबुवाको मृत्यु भयो अनि थपियो १८ वर्षीय कासिराम विकमाथि सम्पूर्ण जिम्मेवारी ।

काशीरामका १६ वर्षीय भीमबहादुर विक, १४ वर्षीय झुपलाल विक, ११ वर्षीय दुर्गालाल विक, १० वर्षीय रोशन विक, ७ वर्षिय शोभा विक र ४ वर्षीय दीपक विक गरी ६ भार्इबहिनी रहेका छन् ।

तीन वर्ष अघि बुवा र एक महिना अघि आमा गुमाएका कासिरामले आफूसहित सात भाइबहिनीहरूको जिन्दगी उकास्ने कोसिस गरिरहेका छन् । कासिरामले आफ्नै गाउँमा दैनिक मजदुरी गरी आफ्ना साना भाई बहिनीहरूको जसोतसो पेट भरिरहेका छन् ।

२०७४ सालमा परेको पानीसँगै आएको हावाहुरीले बास बस्दै आएको घर पनि आधा भत्काइदिएको छ । त्यही भत्किएको घरमा सात भाइबहिनीले रात काट्दै आइरहेका छन । सम्पत्तिको नाममा भत्किएको घर, ३ रोपनी जग्गा र २ वटा बाख्राबाहेक अरू केही छैनन् ।

आमा बुवको मृत्युपछि साना भाइबहिनीलाई पालनपोषण गर्ने निकै कष्टकर भएको अभिभावक बनेका १८ वर्षीय काशीरामले बताउछन् । उनी भन्छन्, ’आर्थिक अवस्था कमजोर हुँदा बिरामी भएका बुवालाई बचाउन सकिएन, बुवा बितेको तीन वर्षपछि आमाले पनि हामीलाई छोडेर जानुभयो । साना भाइबहिनीलाई के खुवाएर पालु साह्रै अप्ठेरो परेको छ ।’

गाउँघरमा दैनिक मजदुरी गरेर साँझबिहानको छाक टार्दै आइरहेको बताउँदै कासिरामले भने, ’साझँ बिहान काम गरेर छाक टारुँ कि भाइबिहिनीहरूलाई विद्यालयमा पठाऊँ साह्रै समस्यामा परेको छु ।

आफु पढ्न त कहाँको कुरा हो, घरको खर्च आफ्नो संरक्षक नहुँदा विद्यालय जानका लागि कपी कलमको खर्च जुटाउन समेत नसकेको उनले दुखेसो पोखे । गहभरी आँसु लिँदै खर्च जुटाउन नसक्दा भार्इबहिनीहरू शिक्षाको उज्यालो किरणबाट बञ्चित हुनुपरेको काशीराम बताउछन्।

प्रतिक्रिया