प्रसुती सेवा केन्द्रको अनुगमन

प्रसुती सेवा केन्द्रको अनुगमन

 
दैलेख मंसिर १३ ।
जापान सरकारको आर्थीक सहयोग आड्रा जापान र आड्रा नेपाल तथा सुरक्षित मातृत्व संजाल महासंघ नेपालको साझेदारीमा एस.आर.एच.परियोजनाद्धारा दैलेख जिल्लामा निर्माण गरिएको प्रसुती सेवा केन्द्रका भवनहरु अनुगमन गरिएको छ । सन २०१३ मा निर्माण गरिएका भवन र प्रदान गरिएको प्रसुती सामग्रीहरुको अवस्था बारे अनुगमन गरिएको हो । प्रसुती केन्द्र र प्रदान गरिएका सामग्रीहरुको नेपाल स्थित जापानी एम्बेसीका सेकेन्ड सेक्रेटरी मासाओ कुनिसादा, कार्यक्रम अधिकृत बिके मानन्धर लगाएतको टोलीले अनुगमन गरेको हो ।

उक्त परियोजनाले नौमूले गाउँपालिकाको तोली, नारायण नगरपालिकाको भवानी, महावु गाउँपालिकाको खरिगैरा, भैरवी गाउँपालिकाको भैरिकालिकाथुम, रावतकोट र चामुण्डाविन्द्रासैनी नगरपालिकाको हाडाकोटमा प्रसुती केन्द्र निर्माण गर्नुका साथै र प्रसुती केन्द्रका लागि सामग्रीहरु सहयोग प्रदान गरिएको थियो ।

प्रसुती सेवा संचालनका लागि प्रदान गरिएका सामग्रीहरुको अवस्था बार अनुगमन गरिएको सुरक्षित मातृत्व संजाल महासंघ नेपालका केन्द्रिय सदस्य सिता कुमारी रानाले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाले गरेका स्थान मध्ये नौमूले गाउँपालिकाको तोली र महावु गाउँपालिकाको खरिगैरामा अनुगमन गरिएको हो ।

प्रसुती केन्द्र स्थापना हुनुपूर्व घरमै सुत्केरी हुनुपर्ने बाध्यता, आमा र बच्चाको अकालमा मृत्यु, सालनाल अड्कदा उचित व्यवस्थापन हुन नसक्नु, आमा र बच्चामा संक्रमणको खतरा, गर्भवती तथा सुत्केरी जाँच प्रभावकारी नहुनु, लामो व्यथा तथा अन्य समस्याको व्यवस्थापन, भवन नहुँदा सेवा प्रभावकारी नहुनु, आर्थीक अवस्था कमजोर भएका महिलाहरुले सेवा लिन बाहिर जाँदा ऋण लिनुपर्ने बाध्यता रहेको थियो ।

प्रसुती केन्द्र निर्माण पछि स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेको, मातृ तथा नवजात शिशुको मृत्युदरमा कमी, गर्भजाँच तथा सुत्केरी जाँच प्रभावकारी भएको, लामो व्यथा लागेर सालनाल अड्कने समस्या समाधान भएको, आर्थीक रुपमा सहयोग भएको पाइएको स्थानीय समुदाय र स्ंयमसेवीकाहरुले बताएका   छन् ।

प्रतिक्रिया