फौजदारी अपराध गाउँमा मिलाउने प्रयास नगरौँ – प्रजिअ बास्कोटा

फौजदारी अपराध गाउँमा मिलाउने  प्रयास नगरौँ – प्रजिअ बास्कोटा


दुल्लु २८ मंसिर– दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले फौजदारी अपराधका घटनाहरु गाउँमै मिलाउने प्रयास कसैले पनि गर्न नहुने बताउनुभएको छ । ईलाका प्रहरी कार्यालय दुल्लुको आयोजनामा शुक्रवार जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रदान गरिएको सेवा सुविधाको प्रभावकारीता सम्बन्धि गरिएको नागरिक सुनुवाई कार्यक्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी बास्कोटाले भन्नुभयो ‘महिला हिंसा,बालविवाह, छुवाछुत जस्ता घटना फौजदारी अपराध भएकोले यसलाई कसैले पनि गाउँमा मिलाउने प्रयास गर्नु हुँदैन् ।’

फौजदारी अपराधका घटना प्रहरीको नियन्त्रणमा रहने कानुनी प्रक्रिया अनुसार सजाए हुने बताउदै प्रमुख जिल्ला अधिकारी बास्कोटाले समाजमा महिला हिंसा हुन नदिनको लागि स्थानिय तहसंग हातेमालो गर्दै प्रहरी प्रशासनले चेतनामुलक कार्यक्रम गर्दै आइरहेको औल्याउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) ठाकुरप्रसाद पोखरेलले डाँडीमाडी बजारमा प्रहरी चौकी स्थापना गर्नको लागि यहाँका समुदायको हस्ताक्षर सहितको पत्र जिल्लामा पेश गरेमा यहाँको शान्ति सुरक्षाको अवस्थाको अवलोकन गरेर प्रहरी चौकी स्थापनाको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले नागरिकहरुले सुचनाको सहि सदुपयोग गरेमा समाजमा भएका घटनालाई तत्काल प्रहरी समक्ष जानकारी गराएमा अपराधीलाई कार्वाहीको दायरामा ल्याउनको लागि सहज हुने धारणा राख्नुभयो । घरेलु मदिरालाई नियन्त्रणको लागि प्रहरी संगसंगै स्थानियको सक्रियता आवश्यक रहेकोले मदिरालार्ई सबैको सहयोगमा नियन्त्रण गर्न आवश्यक रहेको डिएसपी पोखरेलको भनाई छ । अहिलेको समयमा प्रहरी जनताको साथमा रहेकोले विद्यालय, टोलटोल र समाजमा प्रहरी साझेदारी कार्यक्रम लागु गरेको प्रहरी प्रमुख पोखरेलले बताउनुभयो । कार्यक्रममा भैरवी गाउँपालिकाको अध्यक्ष प्रेम बहादुर बुढाले अपराधीहरुलाई कोही कसैले पनि संरक्षण नगर्न आग्रह गर्नुभयो ।

भैरवी गाउँपालिकाको डाँडीमाडी बजारमा भएको कार्यक्रममा त्यहाँका सरोकारवालाले डाँडीमाडी बजारमा प्रहरीचौको स्थापना गर्न सम्बन्धीत निकाएको ध्यानाकषर्ण गराएका छन् । कार्यक्रममा महिला हिंसा अन्त्य, बाल विवाह न्युनीकरण, जातिय छुवाछुत तथा छाउप्रथा न्यूनिकरण र मदिरा नियन्त्रण गर्नका लागि भइरहेका पहल बारे सहभागिहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समक्ष प्रश्न गरेका थिए ।

प्रतिक्रिया