स्थानीय पाठ्यक्रममा प्रजनन् स्वास्थ्य

स्थानीय पाठ्यक्रममा प्रजनन् स्वास्थ्य


दैलेख पुस ६ ।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रममा प्रजनन् स्वास्थ्य विषयलाई समाबेश गर्ने भएको छ । आगामी शैक्षिक सत्र देखि लागु हुने गरि निर्माण गर्न लागिएको स्थानीय पाठ्यक्रममा महिनावारी सरसफाई, व्यवस्थापन र प्रजनन् स्वास्थ्य सम्बन्धि विषयलाई समावेश गर्न यहाँका जनप्रतिनीधिले प्रतिबद्धता समेत जनाएका छन् ।

विहिवार डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा छाउपडी प्रर्था विरुद्ध आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो प्रतिबद्धता गरिएको हो । डुङ्गेश्वर गाउँपालिकामा छाउगोठ नभएको तर महिनावारी बार्ने चलन रहेकोले महिनावारीको समयमा सरसफाई र व्यवस्थापनका लागि गाउँपालिकाका ६ वटै वडामा अभियान चलाउने जनप्रतिनीधिले प्रतिबद्धता जनाएका छन् । गाउँपालिकालाई भेदभाव मुक्त बनाउने अभियानमा सबै जनप्रतिनीधिहरु एकमत भएर लाग्ने डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष राजु कुमार खत्रीले बताउनुभयो । अबको केहि महिनाभित्र लाँकरीलाई छाउगोठ मुक्त वडा घोषणा गरिने वडाअध्यक्ष खत्रीको भनाई छ ।

वातावरणीय कृषि तथा विकास केन्द्र (केड) को सहयोग, वडा कार्यालय लाँकुरीको समन्वय र महिला सशक्तिकरण मंच नेपाल दैलेखको आयोजनामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञवालीले गाउँपालिकाको सबैै वडामा घरदैलो अभियान गरि जनचेतना मुलक कार्यक्रम संचालन गरिने बताउनुभयो । उहाँले डुङ्गेश्वर गाँउपालिकालाई छाउगोठ मुक्त गाँउपालिका घोषणा गरिने बताउनुभयो ।

महिलाको प्रजनन स्वास्थ्य, महिनावारी सरसफाई र व्यवस्थापनको विषयलाई गाँउपालिकाले तयार गर्ने स्थानिय पाठ्क्रममा समाबेश गरि पाठ्क्रम तयार गर्ने उपाध्यक्ष ज्ञवालीको भनाई छ ।
डुङ्गेश्वर गाउँपालिका २ का वडाअध्यक्ष राजु कुमार खत्रीको अध्यक्षतामा संचालन भएको अन्तरक्रियामा वडाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकमी, धामी, आमा समुहका पदाधिकारी, स्वास्थ्य स्वयंमसेविका, बाल क्लवका पदाधिकारी,दौतरी शिक्षाकर्मी, नमुना जोडि अभियानकर्ताहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रम महिलाहरु महिनावारी भएको समयमा पोषण, आराम, सुरक्षा र सरसफाईमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने उदेश्यले आयोजना गरिएको कार्यक्रम संयोजक दुर्गा लम्सालले बताउनुभयो । लाँकुरीमा ६० प्रतिशत घरधुरीमा महिनावारी बारिदैन् । ४० प्रतिशत घरधधुरीमा ३ देखि ५ दिन सम्म महिनावारी बार्न गरेको बताइएको छ ।

प्रतिक्रिया