मानवअधिकारको प्रत्याभूती गराउन तत्पर छौ – अध्यक्ष मल्ल

मानवअधिकारको प्रत्याभूती गराउन तत्पर छौ – अध्यक्ष मल्ल

 
दैलेख, पुस १७
डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जनजीविका र मानवअधिकारको प्रत्याभूती गराउन गाउँपालिका तत्पर रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा डुङ्गेश्वर बजारमा मंगलवार भएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सवालको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।
अध्यक्ष मल्लले डुङ्गेश्वर गाउँपालिकाले बालबालिकाको उचित शिक्षा र उज्ज्वल भविष्यको लागि सबै भन्दा धेरै ९० लाख विनियोजन गरेको, चालु आर्थिक वर्षमा वडा नंं. ४ मा बर्थिङ्ग सेण्टर र वडा नं. ६ मा नयाँ स्वास्थ्य चौकी स्थापना गरिएको जानकारी दिए ।
त्यस बखत डुङ्गेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले कृषिलाई व्यवसायिक र उन्नत प्रविधि विस्तार गर्न लगानी बढाउदै लिइएको जानकारी दिए । वडा नं. ६ का वडाध्यक्ष बमबहादुर बीसीले डुङ्गेश्वर गाउँपालिकाका सबै विद्यालयहरुमा कम्प्यूटर शिक्षा प्रयोगात्मक अभ्यास भए नभएको अनुगमन प्रभावकारी बनाइने प्रतिवद्धता जनाए ।


इन्सेकले डुङ्गेश्वर गाउँपालिका वडा नंं. १ बेलपाटा र वडा नं. ६ डुङ्गेश्वरमा गठन गरेको इएलपी कार्यक्रम अन्तरगतका मानव अधिकार निगरानी समूह, बालअधिकार चेतना समूह र सरोकारवालाहरुले शिक्षा, स्वास्थ्य र खाद्य सुरक्षा विषयमा जनप्रतिनिधिहरुसंग सवाल जवाफ गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सवालहरु र डुङ्गेश्वर गाउँपालिकाको भावी नीति तथा कार्यक्रम समेतलाई समेट्दै ४ बुदे प्रतिवद्धता समेत जारी गरिएको थियो । गाउँपालिका अध्यक्ष मल्ल, वडाध्यक्ष द्वयले दस्खत गर्नुभएको प्रतिवद्धतामा कृषिलाई प्रविधि युक्त बनाउने, शैक्षिक गुणस्तर र स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन आगामी बजेटमा ध्यान दिइने उल्लेख छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको रेडियो धु्रवताराले प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया