‘५० हजार पुरस्कार सहित पिलाडी बालमैत्री वडा’

‘५० हजार पुरस्कार सहित पिलाडी बालमैत्री वडा’


निर्मल अधिकारी
दैलेख–दैलेखको गुराँस गाउँपालिका – ६ बालमैत्री वडा घोषणा भएपछि गाउँपालिकाले ५० हजार नगद सहित सम्मान पत्रप्रदान गरेको छ । बालमैत्री लगानी र बालमैत्री वातावरण श्रृजना गर्न सहयोग गरेकोमा गाउँपालिकाले वडालाई नगद सहित सम्मान गरेको हो ।
गुराँस गाउँपालिकाको – ६ पिलाडीले बालमैत्री स्थानीय शासन वडा घोषणा गरी महाअभियानको सुरुवात गरेकोमा निर्वाचन क्षेत्र नंम्बर १ (क) काप्रदेश सभा निर्वाचित सांसद धर्मराज रेग्मीले धन्यवाद दिएका थिए । बालमैत्री स्थानीय शासनका सूचकहरु पुरा गर्ने सबै वडाहरुलाई यसरी नै घोषणा गर्न उनले आग्रह गरे । विकास र परिवर्तनको शुरुवात गुराँस गाउँपालिकाबाट भएको छ, रकम अभावमा कुनै काम रोकिँदैन, सांसद रेग्मीले भने । उमेर नपुगी हुने विवाहलाई सामाजिक रुपमा बहिष्कार गरे मात्रै वाल विवाहको अन्त्य हुने बताउदै सांसद रेग्मीले भने ‘दुलाहा दुलहीको जन्मदर्ता हेरेर मात्रै विवाहमा सहभागी हुने बानीको विकास गरौ ।’

मानवीय विकास विना भौतिक विकास सम्भवन भएकाले मानविय विकासमा जोड दिन आवश्यक भएको गुराँस गाउपालिकाका अध्यक्ष खेमराज वलीको भनाई थियो । बालमैत्री वडा घोषणा गर्नका लागि पूर्वाधार तयार गर्ने सबै वडाहरुलाई गाउँपालिकाले यसरी नै सम्मान गर्नेछ । बालमैत्री वडा घोषणाले बाल अधिकार बुझ्न नसकेको हाम्रो समाजलाई सहयोग गरेको उनको भनाई छ । युवाहरुलाई लक्षित गरी गाउँपालिकाका सबै वडाहरुमा युवा सूचना केन्द, पुस्तकालय र बाल बगैचाको सुरुवात गर्ने वलीले बताए ।

आगामी एक वर्ष भित्र गुराँस गाउँपालिकालाई बाल मैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्न कार्ययोजना सहित लागिपरेका वलीको भर्ना थियो । गाउँपालिकाले बाल सुरक्षा कोष लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ । बाल सुरक्षा कोषमा बालबालिकाको जन्मदर्ता सँगै उनीहरुको नाममा बैक खातामा रकम जम्मा हुन्छ । सबै वडाहरुमा बाल कोषको स्थापना गरिने वलीले वताए । गाउँपालिकाले एकिकृत रुपमाविकासको सुरुवात गरेको छ, उनले भने ‘महिला, बालबालिका, जेष्ठ नागरिक र अपाँगता भएका सबै व्यक्तिहरु विकासबाट लाभान्वित हुनेछन् ।’ विपन्न नागरिकले विकासको अनुभव हुने गरी काम गर्न लागिएको उनको भनाई थियो ।
वडा नंं ६ का वडा अध्यक्ष हिमबहादुर वलीले बालमैत्री वडा घोषणा पश्चात प्राप्त गरेको पुरुष्कारमा आफ्नो एक महिनाको पारिश्रमिक सहित थपेर बालबालिकाकै क्षेत्रमा खर्च गरिने बताए । वडाले बालमैत्री स्थानीय शासनका ३९ वटा सूचकहरु पुरा गरिसकेको हुदाँ घोषणा गरिएको उनले बताए । बालविवाह, बालश्रम न्यूनिकरण मात्रै नभएर एक वर्ष देखि शून्यमा झरेको छ, लगानी योजना, बालमैत्री नीति लगाएतका कार्यविधिहरु बनेका छन् , उनले भने । लगानी र योजना अनुसार आगामी वर्षहरुमा बालबालिकाको क्षेत्रमा खर्च गरिने उनले बताए । बालमैत्री स्थानीय शासनलाई दिगो बनाई राख्न कार्ययोजना सहित कामको शुरुवातगरिएको उनको भनाई थियो ।

उनले बालमैत्री वडा घोषणामा सहयोग गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख र सेभ द चिल्ड्रेनलाई धन्यवाद दिएका थिए । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यबिधि २०६८ मा निर्धारण गरिएका बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता तथा संस्थागत बिकाससँग सम्बन्धित ३९ वटा सूचकहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, बाल अधिकारलाई प्रत्याभूत गर्ने नीति, योजना, कार्यक्रम र आचाँर संहिता निर्माण र कार्यान्वयन गर्ने, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य ब्यवस्थापन समिति, योजना तर्जुमा समिति लगायतका नीति, योजना निर्माण गर्ने र निर्णय गर्ने संरचनाहरुमा बालबालिकाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, वडामा निर्माण हुने संरचनाहरु बाल मैत्री बनाउने र विनियोजित हुने पूंजिगत बजेटको कम्तिमा १५ प्रतिशत बजेट बाल बालिका लक्षित योजना तथा कार्यक्रममा बिनियोजन गर्ने प्रतिबद्धता घोषणामा गरिएको थियो ।
उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नका लागि विकास साझेदार संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेख र सेभ द चिल्ड्रेनले आ.व. २०७२/०७३ देखि हाल सम्म बाल शिक्षा, बाल अधिकार शासन र बाल संरक्षणको क्षेत्रमा झण्डै ८५ लाख लगानी गरेको घोषणा प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

प्रतिक्रिया