डुङ्गेश्वरका नागरिक भन्छन् -‘विकासको अनुभुती भएन’

डुङ्गेश्वरका नागरिक भन्छन् -‘विकासको अनुभुती भएन’

  
दैलेख पुस २५ ।
दैलेख डुङ्गेश्वर गाउँपालिका–५ का मन बुढा ७३ बर्षमा भए । गाउँपालिकामा सार्वजनिक सुनुवाई छ भन्ने थाहा पाएर लठ्ठीको साहारामा गाउँपालिका भवन सम्म पुगे । गाउँपालिका भवनको खुला चौरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनताको पश्न र जनप्रतिनीधिको जवाफ चलिरहँदा मध्य समयमा कार्यक्रम स्थल आइपुगेका बुढाले पश्न राख्नलाई हात उठाए । जनप्रतिनीधि भएतिर औला उठाएर बुढाले भने ‘जति जोगी आएपनि कानै चिरेका ।’ गाउँमा सडक खनियो, सुन्तलाको विउ बाँडियो, तरकारी र फलफुलको विउविजन पनि बाँडियो भन्ने सुन्यौ, तर म जस्ता गरिब र विपन्न नागरिकको घर सम्म पुगेन्, हामीले यि सेवा र सुविधा कहिले पाउँछौ ? बुढाले प्रश्न गरे ।’

एकोहोरा जनप्रतिनीधि समक्ष गुनासो राखेका ७३ बर्षिया बुढाले भने ‘गाउँमा सिंह मात्रै आए, दरबार आएन् ।’ आफुहरुले विकासको अनुभुती गर्न नपाएको बुढाको गुनासो थियो । उनि जस्तै डुङ्गेश्वर २ का श्याम बहादुर रानाले कर्मचारीले पोषाक नलगाएको, गाउँपालिकाले संचालनमा ल्याएको विकासे गतिविधीको उपलब्धी, गाउँपालिकाको सरकारी मोटरसाइकल दुरुपयोग भएका जस्ता पश्नहरु गरे । उनले गाउँपालिकाको हनेटामा अहिले पनि शिक्षक सट्टामा राख्ने प्रचलन भएपनि गाउँपालिका मुखदर्शक भएको गुनासो गरे ।

सोहि ठाउँमा युवराज तिमिल्सीनाले गाउँपालिका भित्रका विभिन्न विद्यालयमा शिक्षक नियुक्त गर्दा मनलाग्दो रकम अशुल गरिएको गुनासो गरे । उनले भने ‘शिक्षक नियुक्तीका लागि ५ सय दस्तुर राखिएकोमा एक जनाबाट ३५ हजार रुपैयाँ सम्म रकम अशुल गरियो ।’ डुङ्गेश्वर ५ का तेज बहादुर विकले अपांगता भएका व्यक्तिहरुका लागि गाउँपालिका र वडाले के कस्ता कार्यक्रम संचालन गर्दै छ भन्नेबारे जानकारी नै नभएको गुनासो गरे । यि केही प्रतिनीधिमुलक पात्रहरु हुन् । उनिहरु जस्तै स्थानीय नागरिकहरुले विकास निर्माण, सेवा प्रवाह लगाएतका विषयमा पश्न र गुनासोहरु गरे । स्थानीय नागरिकहरुले जनताको आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न सुझाव दिए ।

गाउँपालिकाबाट गुणस्तरिय सेवा प्रवाह, दिगोपना, पारदर्शी र प्रभावकारीता विषयक गरीएको सार्वजनिक सुनुवाईमा आम नागरिकहरुको पश्नको जवाफ दिदैँ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले गाउँपालिकाले संचालन गर्ने हरेक गतिवीधिमा स्थानीय नागरिकले खबरदारी गर्नुपर्ने बताए । गाउँपालिकाले संचालन गर्ने गतिवीधीहरु प्रभावकारी र पारदर्शी बनाउन लागिपरेको बताउँदै अध्यक्ष मल्लले सेवा प्रवाहमा सहजताका लागि गाउँपालिकाले हाल सम्म १३ वटा ऐन र ३० वटा कार्यविधि निर्माण गरि कार्यान्वयनमा ल्याएको बताए । उनले गाउँपालिकामा सीसी क्यामरा जडान, विद्युतीय हाजिरीको व्यवस्था, विद्यालयको सुधार कार्यक्रम, माध्यामिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन, आलु र मकैको कृषि पाठशाला सञ्चालनमा ल्याएको बताए । ‘गाउँपालिकाले कृतिम गर्भाधान कार्यक्रम सुरु गरिसकेको छ,’ अध्यक्ष मल्लले भने ‘कुल ६ लाखको लागतमा गाउँपालिकाको दुईवटा स्थानमा बायो ग्यास संचालनमा ल्याउने तयारी गरेका छौ ।’

गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राम बहादुर बुढाले सरकारी सवारी साधान दुरुपयोग रोक्ने प्रतिबद्धता जनाए । गाउँपालिकामा अलपत्र योजनाहरुलाई प्रमुख प्राथकिमतामा राखेर काम गर्ने बताउँदै बुढाले सडक विस्तार गर्दा धेरै रुख विरुवाहरु मासिएका कारण त्यस्ता स्थानमा बृक्षारोपण गर्ने योजना सुनाए । गाउँपालिकाका वडाअध्यक्ष र विषयगत शाखाका प्रमुहरुले नागरिकहरुलाई गुणस्तरिय सेवा प्रवाह गर्ने प्रतिबद्ध जनाएका छन् । डुङ्गेश्वर गाउँपालिकाको आयोजना र धु्रवतारा मिडिया प्राली दैलेखद्धारा आयोजित पहिलो डुङ्गेश्वर गाउँपालिकाको चौमासिक अवधीको सार्वजनिक सुनुवाईमा कर्मचारी पोषाकमा नियमितता गर्ने, अलपत्र योजना तथा कार्यक्रमलाई प्रमुख प्राथमिकतामा राख्ने, गाउँपालिकाका बाँकी दुई वटा वडामा सामुदायिक स्वास्थ्य इकाई संचालनमा ल्याउने, बाल विवाह र लागु औषध न्यूनिकरण गर्न पहल गर्ने लगाएतका ६ बुँदे प्रतिबद्धता गरिएको छ ।

प्रतिक्रिया