‘बेरोजगार युवाहरुको तथ्यांक संकलन गरिसक्यौ’

‘बेरोजगार युवाहरुको तथ्यांक संकलन गरिसक्यौ’

दैलेख (गुराँस) फागुन ३ ।
दैलेख, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गाउँपालिका भरी रहेका बेरोजगारी युवाहरुको तथ्यांक संकलन गरिसकेको बताउनुभएको छ । सामुदायिक रेडियोकर्मीहरुको स्वागत कार्यक्रममा अध्यक्ष ओलीले गुराँस गाउँपालिकाले संकलन गरेको तथ्यांकले संघिय सरकारले सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा मद्धत पुग्ने बताउनुभयो ।
‘गुराँस गाउँपालिकाले बेरोजगारहरुलाई स्वरोजगार बनाउने हेतुले हामीले अघिल्लो बर्ष वेरोजगारी मेला लगायौँ, त्यहाँबाट वेरोजगार युवाहरुको तथ्यांक संकलन गरेका छौ, यो बर्ष त्यो तथ्यांकलाई अध्यावधिक गर्ने काम पनि गरिसक्यौ र दुई सय जना युवाहरुलाई हामीले स्वरोजगार पनि बनाइसकेका छौँ,’ अध्यक्ष ओलीले भन्नुभयो । सरकारले प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरि बेरोजागार युवाहरुलाई स्वरोजगार बनाउन पहल लिएको भन्दै अब झनै काम गर्न सजिलो भएको धारणा राख्नुभयो ।
सरकारले सुरुवात गरेको कार्यक्रमलाई स्वागत गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो ‘गुराँस गाउँपालिकाले बेरोजगार युवाहरुको तथ्यांक संकलन गरिसकेकाले उनिहरुले के काम गर्न चाहान्छन्, उनिहरुको क्षमता के हो, यो सबै तथ्यांकले संघिय सरकारले सुरु गर्न लागेको कामले अझै सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौ ।’ उहाँले गुराँस गाउँपालिकाले शिशुको नाममा सुरु गरेको जिवन सुरक्षा कोषको बारेमा पत्रकारहरुलाई जानकारी गराउदै यो कार्यक्रम बालबालिकाको भविष्य सुनिश्चित गर्न भएको भन्दै यो कार्यक्रम देशभर नै लागु हुन आवश्यक रहेको धारणा राख्नुभयो । ‘यो कार्यक्रममा बच्चाको नाममा ६ लाख रकम जम्मा भइसकेको भन्दै अब २० बर्षपछि गुराँस गाउँपालिकामा कोही पनि व्यक्ति गरिबीको रेखामुनी रहेर बाच्नु पर्दैन्,’ उहाँले भन्नुभयो । कार्यक्रममा गुराँस गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी विसीले गुराँस गाउँपालिकालाई पर्यटन हवको रुपमा विकास गरिने बताउँदै यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा गाउँपालिका लागेको बताउनुभयो । कार्य सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष सुवास खतिवडाले विकासमा सामुदायिक रेडियोहरु र सरकारहरु साझेदार गरेर जान आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया