१८० लाई इण्ट्रा अकुलर लेन्स

१८० लाई इण्ट्रा अकुलर लेन्स

नारायण नगरपालिका दैलेखको सहयोग र नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाद्धारा दैलेख सदरमुकाममा आयोजित शिविरमा मोतिबिन्दु शल्यक्रिया गरेपछि खुसी हुँदै ज्येष्ठ नागरिक । तस्विर – हिक्मत बहादुर नेपाली,

दैलेख– नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले सदरमुकाममा सञ्चालन गरेको ४ दिने आँखाको मोतिबिन्दु अप्रेसन शिविरमा १ सय ८० जनाको आँखामा इण्ट्रा अकुलर लेन्स राखिएको छ । नारायण नगरपालिकाको सहयोगमा शुक्रवार शिविर सुरु भएको शिविरमा सोमवार सम्पन्न भएको हो ।
मोतिबिन्दू अप्रेसन बाहेक ३ सय ४७ जनालाई आँखा रोग सम्बन्धी उपचार र निःशुल्क औषधि वितरण गरिएको प्राथमिक आँखा उपचार केन्द्रका प्रमुख प्रकाश शाहीले जानकारी दिनुभयो ।
सहरी क्षेत्रमा मूल्य तिर्न सक्नेलाई करिव ११ हजार रुपैंयाँमा दिइदै आएकोमा पाँच वर्ष अघिदेखि मात्र ग्रामीण स्तरमा सञ्चालन हुने शिविरमा पनि यस्तो लेन्स दिन थालिएको हो ।
इण्ट्रा अकुलर लेन्स राख्नु अघि मोतिबिन्दू अप्रेसन गरेकाहरुलाई प्लस १० का चश्मा दिइँदै आएको थियोे । तर अहिले इण्ट्रा अकुलर लेन्स राखेकाहरुलाई चाहिं चश्माको जरुरी पर्दैन, धुवा वा धुलोबाट जोगाउन सामान्य चश्मा प्रयोग गर्न सकिने सुर्खेत आँखा अस्पतालका नेत्र अधिकृत प्रेम दीक्षितले बताउनुभयो ।
सुर्खेत आँखा अस्पतालका डा. शक्ति सुबेदी र नेपालगञ्ज मेडिकल कलेजको नेत्ररोग बिशेषज्ञ डा. बिक्रम थापा लगायतको प्राविधिक टोलीले मोतिबिन्दूको अप्रेशन लगायतका आँखा रोगको उपचार गर्नुभएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति खेमराज केसीले बताउनुभयो ।

प्रतिक्रिया