हत्या घटनाका अभियुक्त तेह्र वर्षपछि पक्राउ

हत्या घटनाका अभियुक्त तेह्र वर्षपछि पक्राउ

फागुन २३, दैलेख –
हत्या घटना गराए लगतै फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । दैलेखको भगवतीमाई गाउँपालिका–६ सनिगाउँका ३८ वर्षीय टोपबहादुर सिंहलाई जिल्ला प्रहरी कार्यालय दैलेखले बुधवार घरबाटै पक्राउ गरेको हो ।
२०६२ कात्तिक १६ गते साविकको कट्टी गाविस–६ सनिगाउँ हालको भगवतीमाई गाउँपालिका–६ का त्यसबेला २१ वर्षीय शेरबहादुर पुनमगरलाई हत्या गरेको भन्ने कर्तव्य ज्यान मुद्दामा २०६७ चैत २३ गते दैलेख जिल्ला अदालतको फैसला अनुसार ५ वर्ष जन्मकैद तोकिएका फरार अभियुक्त सिंहलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
फैसला भइसकेको कैद असुली गर्न पर्ने अभियुक्तलाई अदालतमा पेश गर्नुपर्ने नियम अनुसार आजै दैलेख जिल्ला अदालतमा बुझाइएकोमा अदालतले अभियुक्त टोपबहादुरलाई आजै दैलेख कारागार राखिएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
देउसीभैलो खेल्ने टोली दुई फरक समूहवीच भएको विवादमा हुँदा लाठीले प्रहार गर्दा शेरबहादुरको घटनास्थलमा मृत्यू भएको थियो । घटनामा संलग्न टोपबहादुर सहित ४ जनालाई तत्कालिन जिल्ला न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासबाट सो सजाय भएको थियो ।
त्यही घटनामा आरोपित त्यतिबेला २६ वर्षीय कर्णबहादुर सिंह र २५ वर्षीय बमबहादुर सिंहलाई घटनाको दुई महिनापछि २०६२ पुस २० गते नारायण नगरपालिका–८ तर्ताङ्गबाट पक्राउ गरी चलाइएकोमा प्रत्यक्ष लाठी प्रहार गरेको नठहरेको कारण जनाउदै माघ १४ गते थुनछेक बहसपछि छुटेका थिए ।
शेरबहादुरको हत्यामा संलग्न भनी किटानी जाहेरीमा परेका ६ जना मध्ये त्यतिबेला पक्राउ परेका कर्णबहादुर सिंह र बमबहादुर सिंहको हकमा २०६५ जेठ ५ गते जिल्ला न्यायाधीश ठाकुरप्रसाद शर्माकै इजलासबाट सफाई दिइएको थियो ।
हत्या गर्ने योजना नभई गाउँमा भैली खेलिरहेको बेला शेरबहादुर पुनमगर र टोपबहादुर सिंहको टोलीबीच विवाद हुँदा समूहगत झडप क्रममामा शेरबहादुरको मृत्यू भएको प्रहरी अनुसन्धान र थप कागजप्रमाणले देखिएको भन्दै बढी कैद गर्नू चर्को हुन जाने भएकोले पाँच वर्ष कैद तोकिएको फैसलाको पूर्णपाठमा उल्लेख गरिएको छ ।
घटना विवरण अनुसार लाठी प्रहारबाट घटनास्थलमै मृत्यू भएपछि शेरबहादुरको शव माटोमा पुरिएको थियो । माओवादी सशस्त्र युद्धको चरम उत्कर्षको बेला भएकोेले ९ दिनपछि कात्तिक २५ गते प्रहरीले घटनास्थल मुचुल्का गरेको थियो । घटना लगतै माओवादीले आरोपितहरुलाई अपहरण गरी लिएकोमा उनीको कब्जाबाट भागेर भारत गएका र शान्ति प्रक्रियापछि लुकीछिपी घरमा आउने जाने गरेका थिए ।
पक्राउ परेका टोपबहादुर सिंहले ३ वर्ष अघि गाउँमा नागरिकता टोली जाँदा २०४५ कात्तिक १८ गते जन्म मिति जनाएर महेन्द्रबहादुर सिंहको नामबाट नयाँ नागरिकता लिएको खुलेको छ । नयाँ नागरिकता लिए यता परिचय बदलिएको ठानेर अलि बढी सार्वजनिक सहभागिता बढाएका थिए ।

प्रतिक्रिया