वर्षेनि ३ हजार नयाँ मिर्गौला रोगी

वर्षेनि ३ हजार नयाँ मिर्गौला रोगी

काठमाडौं । विश्व मिर्गौला दिवस बिहीवार नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । सन् २००६ देखि यो दिवस मनाउन थालिएको हो ।

शरीरमा पानीको कमी, अस्वस्थकर खानपान र अनियन्त्रित जीवनशैलीले मोटोपन, मधुमेह, उच्च रक्तचाप जस्ता समस्या आउँछन् । यिनै कारण मिर्गौला रोग हुने गरेको चिकित्सकहरू बताउँछन् । बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौैलाको अवस्थाबारे थाहा पाइराख्न उनीहरू सुझाउँछन् । परीक्षण निकै सस्तो तर रोग लागिसकेपछि उपचार निकै महँगो रहेकाले बेलैमा सचेत हुनुपर्नेमा उनीहरूको जोड छ ।

स्वस्थ मानिसले २४ घण्टामा कम्तीमा २ लिटर पिसाब फेर्नुपर्छ । तर मिर्गौलामा समस्या भएपछि पिसाब कम हुँदै जान्छ र यसको रङ पनि फरक हुन्छ । पिसाबमा फिँज देखिने, जीउ सुन्निने, श्वास फेर्न गाह्रो हुने, रक्तचाप बढ्ने, खानामा रुचि घट्दै जाने र खान मन नलाग्ने जस्ता समस्या देखिए तत्काल मिर्गौला परीक्षण गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

नेपालमा १२ प्रतिशत मानिसमा मधुमेहको समस्या रहेको र तीमध्ये ३५ देखि ४० प्रतिशतको मिर्गौला खराब रहेको तथ्यांक छ । एक तथ्यांक अनुसार नेपालमा हरेक वर्ष करीब ३ हजार अन्तिम अवस्थाका नयाँ मिर्गौला रोगी थपिने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक १० जनामध्ये एकलाई कुनै न कुनै प्रकारको मिर्गौला सम्बन्धी समस्या हुने गरेको छ । सन्तुलित खानपान, पर्याप्त पानी सेवन र व्यायाम गरेर शरीरलाई सक्रिय राखे मिर्गौला जोगाउन सकिने त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले बताए । सरकारले मिर्गौला रोगीका लागि डायलासिस सेवा निःशुल्क गरेको छ । नेपालका ४३ सरकारी तथा निजी अस्पतालबाट डायलासिस सेवा तथा वीर, त्रिवि शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र्र भक्तपुर र ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ ।

मिर्गौला रोगबारे जानकारी दिन र यसबाट बच्न अपनाउनुपर्ने उपायबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले हरेक वर्ष मार्च महीनाको दोस्रो बिहीवार विश्व मिर्गौला दिवस मनाउने गरिन्छ ।

मिर्गौला रोगको शुरुआती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै विभिन्न लक्षण देखिने भएकाले वर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकले जोड दिएका छन् । मानिस ४० वर्ष नाघेपछि मिर्गौलाको शुद्धीकरण गर्ने क्षमता घट्दै जाने भएकोले बढ्दो उमेरसँगै मिर्गौलालाई पनि हेरचाह गर्नुपर्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक पुकारचन्द्र श्रेष्ठको भनाइ छ । सरकारले मिर्गौला रोगको उपचारका लागि विपन्न नागरिकलाई निःशुल्क डायलासिस र प्रत्यारोपणमा १ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ ।

नेपालमा करीब ३० लाख मानिसलाई मिर्गौलासम्बन्धी कुनै न कुनै किसिमको रोग लागेको अनुमान छ । यस्तै हरेक वर्ष ३ हजार जनाको दुवै मिर्गौला फेल हुने गरेको पाइएको छ । मिर्गौला फेल हुने ९० प्रतिशतभन्दा धेरैको केही महीनामै ज्यान जाने गरेको पाइएको डा. श्रेष्ठले बताए ।

उनका अनुसार मोटोपना भएका मानिसको मिर्गौला फेल हुने सम्भावना २ देखि ७ गुणा बढी हुन्छ । सन् २०२५ सम्ममा मोटोपनले संसारभर १८ प्रतिशत पुरुष र २१ प्रतिशत महिलालाई असर गर्ने अनुमान गरिएको छ । मधुमेह, उच्च रक्तचाप, पत्थरी, वंशाणुगत लगायत कारण मिर्गौलामा समस्या देखिन सक्छ । पिसाबको रङमा परिवर्तन हुनु वा पिसाब पोल्नु, आँखाको डिल सुन्निनु, खानामा रुचि घट्दै जानु, दुब्लाउँदै जानु, दुवैतर्फका कोखा दुख्नु, खुट्टा सुन्निनु, थकाइ लाग्नु र श्वास फेर्न गाह्रो हुनु मिर्गौला रोगका लक्षण हुन् ।

दुवै मिर्गौला करीब ६० प्रतिशत खराब भएपछि मात्र रगतमा क्रिएटनिन बन्न शुरू हुन्छ । रगतमा पाइने मललाई नै क्रिएटनिन भनिन्छ । सामान्यतया मिर्गौलाले यसलाई छानेर शरीरबाट बाहिर निकाल्छ र त्यसैमा समस्या हुँदा मिर्गौलाले छान्न पाउँदैन । यसैले गर्दा रगतमा यसको स्तर बढ्छ । यसबाट बच्न अंगुर खानुपर्छ । यसले अनावश्यक युरिक एसिड बाहिर निकाल्न सघाउँछ ।

म्याग्नेसियमले मिर्गौलालाई सही तरिकाले काम गर्न सहायता गर्छ । त्यसैले म्याग्नेसियम भएका अर्थात् गाढा रंगका सागपात खानुपर्छ ।

निःशुल्क मिर्गौला शिविर हुँदै
अन्तरराष्ट्रिय मिर्गाैला दिवसको अवसरमा राष्ट्रिय मिर्गौला उपचार केन्द्र र सुमेरु अस्पताल धापाखेलको संयुक्त आयोजनामा बिहीवार निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन हुने भएको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रले बुधवार आयोजना गरेको मिर्गौला रोगसम्बन्धी जानकारीमूलक कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

सुमेरु अस्पताल, धापाखेलमा हुने शिविरमा बिहान ८ बजेदेखि ११ बजेसम्म नाम दर्ता गराई मिर्गौला परीक्षण गर्ने कार्यक्रम छ । त्यस्तै शिविरमार्फत मिर्गौला तथा पिसाब रोग र युरोलोजीसम्बन्धी परामर्श दिइने सुमेरु ग्रूपका अध्यक्ष भरत महर्जनले बताए । कार्यक्रममा डाक्टर ऋषिकुमार काफ्लेले मिर्गौैला रोग, नेपालमा यो रोगको वर्तमान अवस्था, मिर्गौलाको डायलासिस तथा प्रत्यारोपणसम्बन्धी जानकारी दिएका थिए ।

मिर्गौला खराब हुने कारक तत्त्वहरू

  • पिसाब रोक्ने
  • कम पानी पिउने
  • धेरै नूनिलो, चिल्लो, पीरो कुरा खाने
  • उच्च रक्तचापको उपचारमा लापरबाही
  • चिनीरोगको उपचारमा लापरबाही
  • धेरै मासु खाने
  • धेरै पेनकिलर लिने
  • धेरै रक्सी र चुरोट पिउने
  • पर्याप्त आराम नगर्ने
  • सोडा धेरै पिउने

परिवारमा मिर्गौैला रोग रहेका व्यक्तिले के परीक्षण गर्ने ?

  • रगतमा : क्रिएटनिन
  • पिसाबमा : प्रोटिन (अल्बुमिन)

मिर्गौलाले के गर्छ ?

  • शरीरमा पैदा भएको दूषित पदार्थ र बढी भएको पानी पिसाबबाट बाहिर फाल्छ ।
  • रक्तचाप सन्तुलन राख्छ ।
  • रगत बनाउन मद्दत पुर्याउँछ ।
  • हाडलाई स्वस्थ राख्न सघाउँछ ।

कस्ता व्यक्तिले वर्षमा एकपटक मिर्गौला परीक्षण गर्नुपर्छ ?

  • ३० वर्ष नाघेका
  • बढी तौल भएका
  • उच्च रक्तचापको उपचार गराइरहेका
  • मधुमेहको उपचार गराइरहेका
  • दुखाइ कम गर्ने लगायत औषधि निरन्तर सेवन गरिरहेका

मिर्गौला स्वस्थ राख्न के गर्ने ?

  • नियमित व्यायाम गर्ने
  • पिसाब २ देखि ३ लिटर हुनेगरी झोल पदार्थ पिउने
  • सुर्ती, खैनी, चुरोटको अम्मल पटक्कै नगर्ने
  • उचाइ बमोजिमको तौल राख्ने
  • स्वस्थकर खानेकुरा खाने

प्रतिक्रिया