विकासमा नागरिकको सहयोग जरुरी – मन्त्री रावल

विकासमा नागरिकको सहयोग जरुरी – मन्त्री रावल

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका – ५ मा रहेको जनता माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नु पुग्ने भएका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल मन्तब्य राख्नुहुँदै ।

दैलेख चैत ४ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले नागरिकको सहभागित विना विकास निर्माणलाई दु्रत गतिमा अगाडी बढाउन नसकिने बताउनुभएको छ । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका – ५ मा रहेको जनता माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन र नयाँ भवनको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । नागरिक नै विकास गर्नुपर्छ भन्नेबारेमा चेतना हुँदैन, ‘तबसम्म विकास निर्माणले दु्रत गति लिन सक्दैन,’ उहाँले भन्नुभयो ‘विकास निर्माण र समृद्धिका लागि नागरिकनै अग्रसर हुनुपर्छ ।’ ‘सरकारले बजेट दिएर बाटो देखाउने हो, काम गर्ने नागरिककै जिम्मेवारी हो,’ मन्त्री रावलले भन्नुभयो ।
‘मुलुकमा राजनीति लडाई सकेर पुराना व्यवस्थाको अन्त्य गरेका छौँ, अबको लडाई आर्थिक समृद्धिको हो, मुलुकलाई आर्थिक समृद्ध बनाउन सबै आ–आफ्नो ठाँउबाट लाग्नुपर्छ, हिजो व्यवस्था परिवर्तन गर्दा जसरी हामी सबै एकजुट भएर लागेको थियो, आर्थिक रुपमा बलियो बनाउन सबै एकजुट हुनुपर्छ,’ उहाँले भन्नुभयो । सुखी नेपाली समृद्ध नेपाल बनाउनका लागि कर्णाली प्रदेश सरकारले विकासको गोरेटोबाटो कोरिरहेको बताउनु भयो आगामी वर्षमा विकास निर्माणलाई कर्णाली प्रदेश सरकारले त्रीव रुपमा अघि बढाउने उहाँको भनाई छ । उहाँले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्ने बताउनुभयो । ‘संविधानले आधारभुत शिक्षा र माध्यमिक शिक्षा स्थानीय तहलाई अधिकार दिएको छ,’ उहाँले भन्नुभयो ‘स्थानीय सरकारले शिक्षा र स्वास्थ्यलाई पहिलो प्रथामिकता दिनुपर्छ ।’
मन्त्री रावलले ठूलो योजनालाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । संघियतालाई कार्यान्वय गर्नका लागि स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा उहाँको जोड छ । ‘जबसम्म स्थानीय तहलाई बलियो बनाउन सकिदैनन, तबसम्म संघियतालाई कार्यान्वय गर्न सकिदैन, संघियतालाई टिकाउन स्थानीय तह आर्थिक रुपमालाई बलियो बनाउनु पर्छ ।’ उहाँले भन्नुभयो ।कार्यक्रममा प्रदेश सभाका सदस्य हिमबहादुर शाहीले राजनीति युगको अन्त्य भएको बताउनु भएको छ । ‘अबको युग भनेको राजनीतिकको युग होइन, ‘अबको युग भनेको विकासको युग हो,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्थानीय पाठ्यक्रम र अभिभावक शिक्षामाला निर्माण गरिरहेको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तबहादुर विकको अध्यक्षता भएको कार्यक्रममा पुर्व जिल्ला विकास समितिका उप सभापति एवम् नेपाल कम्युनिष्ट पार्टीका कर्णाली प्रदेश सदस्य सूर्यबहादुर शाही, वडा अध्यक्ष नारायण प्रसाद रेग्मी लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो । शिलान्यास गरिएको नयाँ भवनको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट २० लाख विनियोजित भएको थियो । सो रकमबाट दुई कोटे भवन बनाउने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया