आरनमै बित्यो जीवन

आरनमै बित्यो जीवन

दैलेखको दुल्लु नगरपालिका–८ स्थित पौवा खलंगाका लाल बहादुर विक परम्परागत आरनको काम गर्दै ।

हिक्मत बहादुर नेपाली
दैलेख, ५चैत्त :
धुलाम्य सडक छेउको सानो झुपडी । खरको छाना भित्र असरल्ल छरिएका फलामका टुक्राहरु । थोत्रो प्लास्टिकमा पोको पारिएको कोइला । कोइला पोल्न प्रयोग गरिने भत्किएको चुलो । टिनको पाता, फिउसको भाँडो, साइकलको पांग्राले निर्माण गरिएको आरन । चुलो नजिकै घन र हतौडा । यो दृष्य दैलेखको दुल्लु नगरपालिका–८ स्थित पौवा खलंगाको सडकखण्ड छेउको फलामको सामग्री बनाउने आरनको हो । लाल बहादुर विक, यहि झुपडीमा बिहानीको झुल्के घामसँगै परम्परागत रुपमा फलाममा सामग्री बनाउने काम गर्दछन् । उनले यहि आरनमा फलामको सामग्री बनाउन थालेको १५ बर्ष पुगिसक्यो तर बाली प्रर्थाबाट अन्नबाली उठाएर जीवन गुजारा गर्नुपर्ने बाध्यताले अझै छोडेको छैन् ।
उनले बुबाबाट आरनको काम गर्न सिकेका हुन् । ‘पुर्खा देखिनै यहि काम गर्दै आएका छौ, आरनको काम गरेरै बुबाले हामीलाई पाल्नुभयो,’ आरनको पंखा घुमाउँदै उनले भने ‘मैले पनि आरन पेशा अंगाले ।’ यस अघि केहि समय गरगहना बनाउने काम गरेका लाल बहादुर पछि गएर आरन पेशालाई निरन्तता दिएका हुन् । गरगहना बनाउने काम नियमित नआउने र आम्दानी पनि नहुने भएपनि आरन पेशालाई निरन्तरता दिएको लाल बहादुरले बताए । ‘हाम्रा बाबु बाजेले आरनको काम गर्दा बालीप्रर्था थियो, अहिले पनि त्यहि छ,’ उनि भन्छन् ‘फलामको सामान बनाए बापत पैसा दिने थोरै छन् ।’ पहिले आरन व्यवसाय राम्रो रहे पनि अहिले भने फस्टाउन नसकेको उनी बताउँछन् । उनले काम गरेबाफत बाली लिन्छन् । यहाँ वरपरका झण्डै ४० घरधुरी उनको बालीघरे हुन् । फलामका सामान बनाए बापत हरेक सिजनमा १ डोका मकै, ५ पाथी धान, ५ पाथी गहुँ लिने गरेको उनले बताए । उनका श्रीमती सहित दुई छोरा र दुई छोरी छन् । ‘मेरो एक्लो कमाईले ६ जनाको परिवार जसो तसो पालिरहेको छु,’ उनले भने । फलाम बनाउने काममा उनका श्रीमती गगन मिजारले बेला बखत सहयोग गर्ने गरेको उनको भनाई छ ।
‘काम गरेर दैनिक हात मुख जोड्न ठिक्क हुन्छ, छोरा छोरीलाई कसरी पढाउने भन्ने चिन्ताले सताउँछ,’ उनले भने ‘एउटा छोरी ७ कक्षामा पढ्छे, अर्की छोरी सानै छ, जेठो छोरा ४ कक्षा पढेर छोड्यो, अर्को छोरा पनि सानै छ ।’ आरन पेशाले दैनिक गुजारा चलेको उनले बताए । ‘मेरो यहि झुपडी भएको सडक खण्ड भएर स्थानीय तह देखि मुलुकको मुख्य बागडोर सम्हालेका नेता र नेतृत्व दिनहुँ जसो ओहोर दोहोर गर्छन तर मेरो यो झुपडीमा उनिहरुको नजर कहिल्यै गएन्,’ उनले भने । उनि पुरानै प्रविधिबाट फलाम पिटिरहेका छन् । फलाम पिट्ने विद्युतीय मेसिन उनिसँग छैन् । ‘यो पेसा जोखिमपूर्ण छ, आगो र फलामसँग काम गर्नुपर्छ, खुल्ला भुपडीमा काम गर्नु परेकोले धुलो र धुवा सहनु परिरहेको छ, उनले भने ‘हामीलाई नगरपालिकाले पनि हेरेन् ।’
मेरो लागि जीवन गुजाराको एउटै बाटो यहि आरन मात्र छ । आरन सञ्चालनका लागि अहिलेसम्म कसैको सहयोग नपाएको उनले गुनासो गरे । आधुनिक आरन सञ्चालन गर्ने धोको पुरा हुन नसकेको उनको भनाइ छ । आरन संचालनका लागि आधुनिक मेसिन औजारहरु सहयोग पाएको भए व्यवसायलाई व्यवस्थित गर्ने योजना उनिसंग छ । उनले फाटफुट रूपमा ज्याला लिएर पनि भाँडावर्तन बनाउने गरेका छन् । आरनमा किसानलाई खेतीपाती गर्न र घरव्यवहार चलाउन आवश्यक पर्ने हँसिया, कुटो, कोदालो, फरुवा, बन्चरो लगायत फलामका उपकरण बन्ने गरेका छन् ।
आरन व्यवसायमा मेहनत धेरै गर्नुपर्ने उनी बताउँछन् । ‘अब गर्मी सूरु भयो आगोसँग दिनहुँ जसो खेल्नुपर्दा निकै गाह्रो हुन्छ, आगोमा फलाम गलाउनुपर्ने हुँदा मेहेनत बढी गर्नुपर्छ ।’ आरनमा फलामको काम गर्नुपर्ने भएकाले काममा ध्यान दिनुपर्ने र मेहेनत गर्नुपर्ने भएर नयाँ पुस्ताले यो व्यवसायलाई निरन्तरता दिन नसकेको उनको बुझाई छ । ‘आधुनिकीकरण हुन नसक्दा आरन व्यवसाय लोप हुँदैछ,’ उनले भने । गाउँघरमा मकै गोड्ने कोदालो, घाँस काट्ने हँसिया, फलामका छुरी, खुकुरी लगायत औजार बनाउन आउने उनी बताउँछन् । कोइला, गोलको कमी हुँदा आगोमा फलाम तताउने तरिका हराउँदै गएको उनी बताउँछन् । ‘राम्रो कोइलाले मात्र फलाम गल्न सजिलो हुन्छ,’ उनले भने ‘दलित समुदायको पुख्र्यौली पेशाको रूपमा रहेको आरन व्यवसायबाट जीविकोपार्जन गर्नै मुस्किल छ ।’
अधिकांशले पुरानै औजार मर्मत गर्न आरन आउने गरेको लाल बहादुरले सुनाए । पहिलेजस्तो आरनमा बसेर फलाम पिट्ने काम नसकीने उनको भनाई छ । समयसँगै आरनको महत्व निकै कम भएको अनुभव उनिसँग छ । ‘अचेलका पुस्तालाई न आरनको बारेमा केही थाहा छ न त आरनको कामलाई महत्व नै दिन्छन्,’ उनले भने ‘गाउँ गाउँमा आधुनिक ग्रिल उद्योगहरु संचालनमा आएपछि हाम्रो आरनको महत्व दिनप्रतिनि घट्दै गइरहेको छ ।’
‘अहिलेको पुस्ता देशमा आरनको काम गर्नुभन्दा विदेश जान रुचाउँछन्,’ उनले भने । आरनको व्यावसायीकरण हुन नसक्दा आरन लोप हुने अवस्थामा पुगेको उनको अनुमान छ । लाल बहादुर मात्र होइन् यहाँका गाउँपिच्छे आरन सञ्चालनमा छन् । तर उक्त आरन पेसामा संग्लग्न व्यक्तिको जीवनस्तर माथि उठेको पाइँदैन् । दैनिक गुजारा चलाउनमात्र आरन सञ्चालन गर्ने गरेको दलित समुदायको गुनासो छ । आरन व्यवसाय आम्दानी तथा आर्थिक वृद्धिको स्रोत बन्न नसक्दा दलित युवाको आकर्षण बढ्न सकेको छैन् । दलित समुदायले पुर्खा देखि गर्दै आएको आरन व्यवसायलाई थप सुधार गर्दै लैजानुपर्ने यहाँका दलित अगुवाहरुको भनाई छ ।

प्रतिक्रिया