नयाँ बजेटमा कर्णालीलाई प्राथमिकता

नयाँ बजेटमा कर्णालीलाई प्राथमिकता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने पनि बताए ।

मंगलबार संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरुसँग सिंहदरबारमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चालू आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन नसकिएको स्वीकार गर्दै आगामी आर्थिक वर्षको बजेटमा उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता प्रधानमन्त्रीले जनाउनुभएको नेकपाका नेता एवम् रुकुम क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले जानकारी दिए । उनले आफूहरुले मुलुकको समृद्धिमा कर्णालीले दिन सक्ने योगदानका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको पनि बताए ।

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न, एक उद्योगको अनिवार्य स्थापना गर्न, तारा तालदेखि रारा ताल हुँदै मानसरोवर तालसम्मलाई पर्यटकीय आधार रुट बनाउन आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सांसद नवराज रावतले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशमा एउटा जलविद्युत आयोजना निर्माण गर्न, केन्द्रीय विद्युत प्रशारण लाइनको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरुलाई कर्णालीको विकासका लागि आवश्यक ठोस योजना बनाएर तत्काल ल्याउन पनि निर्देशन दिएका थिए । जनप्रतिनिधिहरुले ल्याएको योजनामा आधारित भएर सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बनाउने प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रतिक्रिया