दैलेखका असिनापीडितलाई राहत प्रदान गर्न माग

दैलेखका असिनापीडितलाई राहत प्रदान गर्न माग

सुर्खेत-कर्णाली प्रदेशसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हावाहुरी र असिनापानीले करोडौं क्षति पुर्याएको भन्दै राहत तथा क्षतिपूर्ति दिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रदेश सभाको आइतवार बसेको हिउँदे अधिवेशनको दशौं बैठकको विशेष समयमा सांसदहरूले २४ घण्टाभित्र अनुगमन समिति गठन गरी क्षतिपूर्तिको घोषणा गर्न माग गरेका हुन् ।

एक केजी तीन सय ग्रामको असिना

बुढापाकाको भनाइ उद्धृत गर्दै प्रदेशसभा सदस्य शुशिल थापाले तीस वर्ष पछि यति ठूलो असिना आएको बताए । ‘चामुण्डा विन्द्रासैनीका मेयर सुर्यबहादुर शाहीले मलाई फोनमा भन्नुभयो, एक किलो तीन सय ग्राम तौलको असिनाका डल्लाहरु खसे,’ उनले भने, ‘रोकिराखेको मोटरसाइकलको ह्याण्डिलसमेत असिनाले भाँच्यो ।’

‘क्षेत्र नम्बर २ का पाँच वटै स्थानीय तहमा असिनापानी र हावाहुरीले ठूलो क्षति पुर्याएको छ,’ उनले भने, ‘तत्काल प्रदेश सरकारले राहत तथा क्षतिपूर्ति दिने व्यवस्था गरोस् ।’ उनले कर्णालीको राजधानीमा विभिन्न ट्युशन तथा भाषा कक्षाका नाउँमा लूट भइरहेको बताए । ‘राजधानी तथा अन्य जिल्लामा विभिन्न इन्टिच्यूटका नाउँमा लूट धन्दा शुरू भएको छ ।’ उनले भने, ‘मासिक पाँच हजार देखि ४० हजारसम्म असुली गर्ने गरिएको छ । यसरी यस्ता कक्षाका नाउँमा लुट्नेलाई सरकारले नियमन गर्नपर्छ ।’ सांसद थापाले त्यस्ता संस्थालाई नियमन गर्नुपर्नेमा जोड दिए । उनले सरकारलाई विशेष रूपमा अनुसन्धान गरेर ती कमाउ धन्दामा लागेकाहरूलाई रोक्नुपर्नेमा जोड दिए ।

दैलेखकै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद मीनासिं रखालले यही चैत २२ र २३ गते आएको हुरीबतास र असिनापानीले दैलेख जिल्लाको क्षेत्र नम्बर २ मा करोडौं मूल्य बराबरको अन्नबाली, फलफूल नष्ट गरेको जानकारी दिइन् । उनले क्षतिको मूल्यांकनका लागि तत्काल अनुगमन समिति गठन गरी क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिन् ।

यस्तै नेपाली कांग्रेसका सांसद हिमबहादुर शाहीले असिनापानीले सिंगो जिल्ला प्रभावित हुँदा समेत प्रदेश सरकार मौन बसेको भन्दै आक्रोश पोखे । ‘गहुँबाली, फलफूल सखाप पारेको छ, थुप्रै परिवारका घरका छाना उडाएर छिमेकीको शरणमा बस्नुपरेको छ,’ उनले प्रश्न गरे, ‘म आफैं स्थलगत अवलोकन गरी फर्किएको छु, सरकारले तत्काल पीडितलाई राहत उपलब्ध गराओस् ।’

‘काम नगर्ने मन्त्री फिर्ता आउनुस्’

जुम्लाका सांसद पदम रोकायाले सांसदहरूलाई सरकारका मन्त्रीहरूले अटेर गर्ने गरेको आरोप लगाए । ‘बारम्बार मन्त्रीहरूको ध्यानाकर्षण गराउँदा पनि हाम्रा कुराको वास्ता गरिँदैन,’ उनले भने, ‘हाम्रा कुरा नसुन्ने हो भने मन्त्री ज्यू फिर्ता हुनुस्, काम गर्ने अर्का सांसद मन्त्री बन्छन् ।’ उनले आफूहरू जनताको काम गर्न भनेर सुर्खेत आएको बताए । ‘हामी सुर्खेतमा भात खान र घाम ताप्न आएका होइनौं,’ उनले आक्रोशपूर्ण भाषामा भने, ‘हामी जनताको काम गर्न यहाँ आएका हौं । हामीलाई काम चाहिन्छ । सरकारले गम्भीरतापूर्वक काममा तीव्रता देओस ।’

कर्णाली राजमार्गको कालिकोट र दैलेखको सीमा क्षेत्र दहीखोलामा खसेको पहिरो हटाउन उनले माग गरे । पहिरो खसेको तीन दिन बितिसक्दासमेत यातायात सुचारु नहुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको उनको भनाइ थियो ।‘प्रदेश सरकारले मातहतका निकायलाई बजेट खर्चको अख्तियारी नदिँदा विकास योजना अझै सञ्चालन हुन सकेको छैन,’ उनले भने, ‘टेण्डर वा उपभोक्ता समिति कुन विधिबाट योजना सञ्चालन गर्ने हो रु सरकारले छिटो टुंगो लगाउनुपर्यो ।’

दुई विधेयक विषयगत समितिमा

प्रदेशसभा बैठकले थप छलफलका लागि दुई विधेयकलाई विषयगत समितिमा पठाउने निर्णय गरेको छ । ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक’लाई सामाजिक विकास समिति तथा ‘सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई अर्थ तथा प्राकृतिक स्रोत समितिमा पठाउने निर्णय सर्वसम्मत पारित गरेको छ ।

दुइटै विधेयकलाई थप छलफल आवश्यक रहेको भन्दै सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समितिमा पठाउन प्रस्ताव बैठकमा पेश गरेका थिए । त्यस्तै, बैठकमा ‘प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल शुरू भएको छ ।

प्रतिक्रिया