कैदीबन्दीलाई हाउस वाइरिङ्ग तालिम

कैदीबन्दीलाई हाउस वाइरिङ्ग तालिम

दैलेख चैत २५ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले कैदीबन्दीहरु सीप इलममा लाग्नु समाजका लागि समेत सकारात्मक पक्ष भएको बताउनुभएको छ ।
केन्द्रीय कारागार व्यवस्था विभागको सहयोगमा दैलेख कारागारमा आजदेखि सुरु भएको ४५ दिने हाउस वाइरिङ्ग तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
कैदीबन्दीहरुको असल चालनचलन कैद मिनाहमा समेत सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बासकोटाले बताउनुभयो ।
दैलेख कारागारका जेलर जीतबहादुर खत्रीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेल, दैलेख उद्योग बाणिज्य संघका सदस्य सीताराम थापा, घरेलु विकास समितिका कुलबहादुर नेपाली, पत्रकार अमर सुनार र कारागार आन्तरिक प्रशासनका चौकीदार कृष्ण खत्रीले कारागारका कैदीबन्दीहरुको लगनशीलताको प्रशंसा गर्नुभएको थियो ।
हाउस वाइरिङ्ग तालिमका लागि कारागार प्रशासनले इच्छुकहरु मध्येबाट छनौट गरेका १४ जना पुरुष कैदीबन्दीहरुलाई प्रशिक्षक कलम बिष्टले नीजि घर, कल कारखाना वा व्यवसायिक प्रयोजनका भवन तथा संरचनामा बिद्युत जडानको सैद्धान्तिक र प्रयोगात्मक अभ्यास सहितको ज्ञान दिनुहुने बताइएको छ ।

प्रतिक्रिया