स्थानीय तहको कार्य सम्पादनमा कठिनाई

स्थानीय तहको कार्य सम्पादनमा कठिनाई

दैलेख चैत २८ ।
प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले संघीय संरचना नयाँ अभ्यास भएको कारण देशभर नै केही अन्यौलता रहेको बताउनुभएको छ । दैलेखका स्थानीय तहहरुसंग भेटघाटको क्रममा विहिवार भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडा पुग्नुभएकी साँसद बिशुन्केले संघ र प्रदेशले केही कानून बनाउन बाँकी रहेको कारण स्थानीय तहहरुलाई कार्य सम्पादनको कठिनाई रहेको उल्लेख गर्नुभएको हो ।
साँसद बिशुन्केले स्थानीय तहका जनप्रतिनिधिको तत्परता र उत्तरदायी भएर विकास कार्यक्रम तथा गाउँपालिकाबाट दिइने सेवा सुविधालाई व्यवस्थित गर्न सकिने सुझाव दिनुभयो । कार्यक्रममा पूर्व जिविस सभापति टेकबहादुर खाँणले विकास कार्यक्रम प्रभावकारी बनाउन योजनाको प्राथमिकीकरण र डीपीआर जस्ता विकास योजनाको गुरुयोजना हुन आवश्यक हुने सुझाव दिनुभयो । नेकपाका कर्णाली प्रदेश सदस्य मयाराम अधिकारीले जनगुनासोको सम्वोधन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिसस सदस्य नन्दबहादुर खड्का, गाउँपालिका उपाध्यक्ष चन्द्रा रेग्मीले दीगो विकास र उत्तरदायी स्थानीय सरकार सञ्चालनको प्रयास बारे व्याख्या गर्नुभएको थियो । त्यसअघि भगवतीमाई गाउँपालिकाको कार्यपालिका बैठकमा स्थानीय सवाल र संघीय सरकारसंगको अपेक्षा बारे साँसद बिशुन्के र कार्यपालिका सदस्यहरुबीच अन्तरक्रिया समेत भएको थियो ।

प्रतिक्रिया