विशेष छात्रबृतिको ग्यारेन्टी सहित विद्यालय भर्ना गराउन माग

विशेष छात्रबृतिको ग्यारेन्टी सहित विद्यालय भर्ना गराउन माग

दैलेख, वैशाख २ गते ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले विद्यालय बाहिर रहेका बालबालिकालाई विशेष छात्रबृति सहित विद्यालय भर्ना गराउन माग गरेको छ । आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै सोसेकले अपांगता र विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई पोषाक, शैक्षिक सामग्री तथा एक शैक्षिक सत्र भरिका लागि विशेष छात्रबृतिको ग्यारेन्टी सहित विद्यालयमा भर्ना गराउन स्थानीय सरकारहरुसंग जोडदार माग गरेको हो ।
अध्यक्ष हीरासिंह थापा द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ‘ अभियानको यस बर्षको नारा ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने आर्दश बाक्यलाई तय गरिएको छ । विज्ञप्तीमा नेपालमा विगत १५ वर्षदेखि विद्यार्थी भर्ना अभियान जारी रहेको उल्लेख छ । नेपालमा विसं २०६१ देखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना अभियान सञ्चालन गर्दै आइरहेको विज्ञप्तीमा उल्लेख छ । मुलुकमा अझै पनि पाँच बर्ष देखि नौ बर्ष उमेर समुहका हजारौ बालबालिकाहरु विद्यालयमा पाइला टेक्नै नपाएको सरकारी तथ्यांक रहेको विज्ञप्तीमा भनिएको छ ‘सरकारले संचालन गर्दै अएको अभियानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय गैससहरुले समेत सघाउँदै आएका छन्,विद्यार्थी भर्ना अभियान चलाउने प्रमुख दायित्व स्थानीय सरकारले हो, अब विद्यार्थी भर्ना अभियानलाई स्थानीय सरकारले प्रभावकारी बनाउनुपर्छ । ’
विज्ञप्तीमा भनिएको छ ‘कुन बालबालिका भर्ना हुन आए कि आएनन् भनेर खोज्ने काम स्थानीय तहको हो, अभियानमा स्थानीय सरकार आक्रामक रूपमा अघि बढेका देखिएको छैन् ।’ अभियानले न्यून आयस्रोत भएका बालबालिकालाई विशेष प्राथमिकतामा राख्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले विज्ञप्ती मार्फत अपिल गरेको छ । ‘विद्यालयमा प्रवेश गर्न नै नपाएका बालबालिकालाई भर्ना गराउँदाको खुसी र गर्वको विषय अरु हुनै सक्दैन, त्यसैले आफ्ना टोल समाजमा भएका त्यस्ता बालबालिकालाई विद्यालयसम्म पु¥याइदिऔँ,’ विज्ञप्तीमा भनिएको छ ‘विद्यालयको पहुँच भन्दा बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकालाई शिक्षाको पहुँमा पु¥याउन विशेष घरदैलो अभियान सञ्चालन गर्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख अपिल गर्दछ ।’
चार वर्ष उमेर पूरा गरेका सबै बालबालिकालाई प्रारम्भिक बाल शिक्षा कक्षामा भर्ना गराउने र विद्यालय शिक्षा निरन्तर सिकाइको अवसर प्राप्त नगरेका विद्यालय उमेर समूह भन्दा बढी उमेर भएका प्रत्येक व्यक्तिलाई नियमित तथा वैकल्पिक सिकाई अवसर प्रदान गर्ने व्यवस्था स्थानीय तहले मिलाउनुपर्ने, विशेष आवश्यकता भएका सबै किसिमका बालबालिकालाई उमेर अनुसार मिल्दो सिकाइ स्थल निःशुल्क भर्ना व्यवस्था मिलाउन ध्यानाकर्षण गराईएको अध्यक्ष थापाले बताउनुभयो ।
‘बैशाख ५ गते पाठ्यपुस्तक दिवस मनाउ र समयमा नै आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गरि पाठ्यपुस्तक बुझौं, विज्ञप्तीमामा भनिएको छ ‘स्रोत कक्षामा भर्नाका लागि आँखा नदेख्ने समस्या भएका बालबालिकालाई नेपाल राष्ट्रिय माध्यामिक विद्यालय दुल्लु दैलेख र पूर्णरुपमा कान नसुन्ने बालबालिकाहरुलाई नेपाल रेडक्रस माध्यामिक विद्यालय भुर्ती दैलेख पठाऊ र अपांगता भएका बालबालिकाको शिक्षा सम्बन्धिको अधिकारको सुनिश्चितता गरौ ।’

विज्ञप्ती मार्फत सोसेकले स्थानीय रेडियो, एफएम तथा पत्रपत्रिकाले विद्यार्थी भर्ना अभियान सम्बन्धी सार्वजनिक सन्देश, भर्ना अभियान सम्बन्धी गीत, लेख, रचना आदि स्थानीय भाषामा समेत प्रशारण तथा प्रकाशनको व्यवस्था गरिदिनहुन अपिल गरेको छ । यस्तै सामाजिक अभियान्ता, शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मीलाई भर्ना अभियानमा सरिक हुन सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आह्वान गर्दै बच्चाको अपनत्व ग्रहण गर्न आम नेपालीलाई अपिल गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षाका लागि विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रममा सबै सरोकारवालाहरुको सहभागिता जनाई विद्यालय भर्ना अभियान २०७६ सफल पार्न सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले विज्ञप्ती मार्फत आह्वान गरेको जनाएको छ ।

प्रतिक्रिया