अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ – सभापति देउवा

अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ – सभापति देउवा

काठमाडौँ, वैशाख ६ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभएको छ ।नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभयो ।

“निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसङ्घ जाग्नुपर्ने बेला आएको छ,” उहाँले भन्नुभयो ।सभापति देउवाले विद्यार्थीसँगको छलफलमा नेविसङ्घको तदर्थ समिति गठन गर्ने बताउनुभयो । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसङ्घ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उहाँको भनाइ छ ।

कार्यक्रममा काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले वर्तमान सरकारले कुरा मात्र गर्ने तर काम नगर्ने गरेको धारणा राख्दै यसको विरुद्ध काङ्ग्रेस एकजुट भएर लाग्नुपर्ने बेला आएको बताउनुभयो । “नेविसङ्घको कार्यसमिति चाँडो गठन हुन्छ, उक्त कार्यसमिति सङ्गठन विस्तार र सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।

काङ्ग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले कम्युनिष्ट अधिनायकवादलाई मुलुकमा लागू गर्न खोजेको आरोप लगाउनुभयो । “आगामी वर्षको स्वर्ण जयन्तीमा निर्वाचित कार्यसमितिले कार्यक्रम राख्ने गरी नेविसङ्घको सङ्गठन विस्तारमा लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक आन्दोलनको अग्र भागमा उभिएको नेविसङ्घको महत्व अहिलेको अवस्थामा झन् बढेर गएको बताउनुभयो ।

काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेविसङ्घको नयाँ कार्यसमिति तत्काल निर्माण गरेर नेविसङ्घलाई जागरण अभियानमा समावेश गर्नुपर्ने बताउनुभयो ।नेविसङ्घका नेता लीलाबल्लभ दाहाल ‘काका’ले काठमाडौँका धेरै विद्यालयले कक्षा एकमा रु एक लाखभन्दा बढी भर्ना शुल्क लिएको भन्दै त्यसको विरुद्धमा नेविसङ्घ उत्रनुपर्ने बेला आएको उल्लेख गर्नुभयो । नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले नेविसङ्घको कार्यसमिति तत्काल गठन गर्न माग गर्नुभयो ।

प्रतिक्रिया